नेकपा स्थायी कमिटी बैठक फेरि ७ दिन स्थगित

काठमाडौँ,असार २६।  नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

 

 मुलुकमा बाढी, पहिरो र कोरोनाको महामारी फैलिँदै गएकाले स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरूमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको छ, प्रवक्ता श्रेष्ठले बताए।

 

पार्टीको विवाद मिलाउन अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पटकपटक वार्तामा बसेका छन् । यसबीचमा दुई नेता र सहयोगीबीच भएको वार्ताबाट कुनै निष्कर्ष निस्किसकेको छैन। 

 

नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमतिको लागि भनेर बैठक स्थगित गरिए पनि सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन।

 

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने अडान लिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षले भने ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद छोड्नु पर्ने भनेर दबाव दिँदै आएको छ ।कोरोनाको महामारी, बाढी पहिरोको बितण्डाको बेला नेकपा नेताहरु सत्ताको खेलमा लागेको भन्दै जनस्तरबाट विरोध भइरहेको छ।