भारत सरकारलाई ध्यानाकर्षण पत्र

काठमाडौँ, असार २९ । भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ ।

परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरुद्धका यस्ता अश्लील र आधारहीन सामग्रीले भारतीय सञ्चार माध्यममा ठाउँ नपाउने सुनिश्चितता गर्न आग्रह गरेको छ ।

 

‘केही भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैतिक सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ पत्रमा भनिएको छ, ‘नक्कली, आधारहीन, न्यूनतम शिष्टतासमेत प्रदर्शन नगरिएका यस्ता गलत अभियानले नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको छ ।

नेपाल–भारत द्विपक्षीय सम्बन्धको लामो इतिहास छ, जसमध्ये सामाजिक सांस्कृतिक सम्बन्ध, जनता–जनताबीचको सम्बन्ध र एकअर्काको भावनाप्रति संवेदनशीलता यस सम्बन्धको महìवपूर्ण अंश हुन् भनेर पत्रमा प्रस्ट्याइएको छ । यी गहिरो र बहुआयामिक सम्बन्ध सार्वभौम समानता, मित्रता, समझदारी, एकअर्काको रुचि र सरोकारको परस्पर सम्मानको अन्तर्निहित सिद्धान्तहरूमा आधारित रहेको पत्रमा उल्लेख गरिएको छ । दुई देशको सम्बन्धलाई विस्तार गर्ने सवालमा अवश्य पनि सही सूचना र सही दृष्टिकोण निर्माण गर्दै रचनात्मक भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

‘हामी प्रेस स्वतन्त्रताको सम्मान गर्दछाँै, त्यस्तो स्वतन्त्रताले न्यूनतम शालीनता र नैतिक सीमा नाघ्नुहुँदैन’, पत्रमा अगाडि भनिएको छ, ‘देशको नेतृत्वको घोषणाविपरीत यो झुठो, मनगढन्ते र अपमानजनक सामग्री नेपाल र नेपाली जनताको अपमान गर्न प्रसारण गरिएको थियो ।’ २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धको सुदृढीकरणका लागि यो सही कदम नभएको पनि प्रस्ट पारिएको छ ।

यस्ता घृणात्मक र अपमानजनक सञ्चार सामग्रीले मैत्रीपूर्ण छिमेकी सम्बन्धमा असर पर्ने नेपाल सरकारले स्पष्ट पारेको छ । साथै यसले जनता र आगामी पुस्तामा समेत पीडा र घृणा छर्ने काम गर्ने भएकाले त्यस्ता सामग्री प्रसारण नगराउन नेपाल सरकारले आग्रह गरेको छ । पत्रमार्फत भारतीय सञ्चार माध्यमद्वारा नेपालका बारेमा प्रसारित अश्लील सामग्रीविरुद्ध तुरुन्त कदम चाल्न र ती सामग्रीले सञ्चार मिडियामा स्थान नपाउने विषय सुनिश्चित गर्न नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेको छ ।

यसअघि भारतीय सञ्चार माध्यमले नेपाल सरकारको नेतृत्व र दुई देशबीचको सम्बन्धमा आँच आउने गरी सामग्री प्रकाशन प्रसारण गरेलगत्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्ता क्रियाकलापले नेपाल र नेपाली जनताको अपमान गरेको प्रतिक्रिया दिनुभएको थियो ।

 

त्यस्तै नेपालका केवल नेटवर्कले सरकारीबाहेक भारतका सञ्चार माध्यमलाई नेपालमा बन्देज लगाउने निर्णय गरेको थियो ।गोरखापत्र दैनिकमा खबर छ।