सशस्त्र प्रहरीले १० हजार दरबन्दी थप गर्न प्रस्ताव

काठमाडाै,साउन १। सशस्त्र प्रहरी बलले कम्तीमा दश हजार नयाँ दरबन्दी थप्नुपर्ने अनौपचारिक प्रस्ताव सरकारसँग गरेको छ । सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) पाँच सय ३७ पु¥याउने सरकारको योजनासँगै सशस्त्रले यस्तो प्रस्ताव गरेको हो ।

 

अहिले सीमा क्षेत्रमा सशस्त्रका एक सय ३८ बिओपी छन् । आगामी आर्थिक वर्षभित्र थप ८३ स्थानमा बिओपी राख्ने सशस्त्रको तयारी छ । अहिलेकै जनशक्तिबाट ती बिओपी स्थापना गरिनेछन् । तर, बाँकी तीन सय १६ बिओपीका लागि जनशक्ति थप्नुपर्ने सशस्त्रको प्रस्ताव छ ।

 

भारतसँग जोडिएको नेपालको सिमाना एक हजार आठ सय ८० किलोमिटर छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले साढे दुई किलोमिटरको फरकमा बिओपी राखेको छ । एसएसबीकै हाराहारीमा नसकिए पनि साढे तीन किलोमिटरको फरकमा एउटा बिओपी राख्ने नेपाल सरकारको योजना छ । यसका लागि पाँच सय ३७ बिओपी स्थापना गर्नुपर्ने हुन्छ ।

 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा बिओपीमा ३५ देखि ५० सुरक्षाकर्मी राख्नुपर्छ । ३५ सुरक्षाकर्मी मात्रै खटाउँदा पनि तीन सय १६ बिओपीमा ११ हजार ६० जनशक्ति चाहिन्छ । यही आकलन गरेर सशस्त्रले जनशक्ति थप्नुपर्ने प्रस्ताव गरेको हो ।

 

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिओपी दुई सय २१ बाट बढाउँदा सशस्त्रको जनशक्तिमा पनि पुनर्विचार गर्नुपर्ने बताए । ‘आगामी वर्ष दुई सय २१ स्थानमा बिओपी राखिसक्ने योजना छ । सशस्त्रको अहिलेकै जनशक्तिबाट त्यो हुन्छ । त्यसबाहेक थप बिओपी स्थापना गर्दा जनशक्तिमा पुनर्विचार गर्न आवश्यक छ । यो विषयमा छलफल चलिरहेको छ, तर कुनै औपचारिक निर्णय भइसकेको छैन,’ उनले भने ।

 

सशस्त्र प्रहरीका अनुसार अहिले रहेका एक सय ३८ बिओपीमध्ये चारवटा उत्तरी सीमा क्षेत्रमा छन् । बाँकी एक सय ३४ पूर्वी, दक्षिण र पश्चिमी सीमा क्षेत्रमा छन् । ३० मंसिरपछि मात्रै ३१ बिओपी थपिएका छन् । थप ८३ बिओपी स्थापनाका लागि आवश्यक जनशक्ति मिलानको प्रयास भइरहेको सशस्त्रले जनाएको छ ।

 

‘आगामी आवभित्रै दुई सय २१ बिओपी पु¥याउने योजना छ । यसका लागि बजेट पनि विनियोजन भएको छ । ८३ बिओपी थप्ने प्रयासमा सशस्त्र छ । आवश्यक जनशक्तिको व्यवस्थापन प्रयास हुँदै छन्,’ सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले भने ।

 

सशस्त्र प्रहरीका पूर्वएआइजी सुबोध अधिकारीले थप बिओपी स्थापना गर्न दरबन्दी थप्नुको विकल्प नरहेको बताए । ‘कम्तीमा पाँच सय बिओपी पु¥याउने सरकारको योजना देखिन्छ । यसका लागि जनशक्ति चाहिन्छ । सशस्त्रमा रहेको साबिकको जनशक्तिले भ्याउँदैन । सोहीअनुसारको प्रस्ताव सशस्त्रले सरकारसमक्ष गरेको हुनुपर्छ,’ उनले भने ।

३७ हजार फौजमा तीन हजार दरबन्दी खाली

गृह मन्त्रालयको तथ्यांकअनुसार सशस्त्र प्रहरीमा अहिले ३७ हजार एक सय ७७ सुरक्षाकर्मीको दरबन्दी छ । जसमध्ये दुई हजार पाँच दरबन्दी खाली छन् । कोरोना महामारीका कारण दरबन्दी मिलान गर्न सशस्त्रले नयाँ भर्नाका लागि आह्वान गर्न सकेको छैन ।

 

७७ वटै जिल्लामा सशस्त्रका गुल्म छन् । जिल्लामा कम्तीमा एक सय सुरक्षाकर्मी तैनाथ छन् । त्यसबाहेक विशिष्ट व्यक्ति, औद्योगिक क्षेत्र, कारागार, भन्सार, सीमा, ठूला आयोजना, विमानस्थललगायतको सुरक्षा, विपत् व्यवस्थापनलगायत कामको म्यान्डेट सशस्त्र प्रहरीले पाएको छ ।

 

यिनै काममा खटिएको जनशक्ति कटौती गरेर आगामी आर्थिक वर्षभित्र स्थापना गरिसक्ने भनिएका ८३ बिओपीमा खटाउने सशस्त्रको तयारी छ । यस्तो गर्दा सशस्त्रमा रिजर्भ फोर्सका रूपमा भने कुनै जनशक्ति नरहने सशस्त्रले जनाएको छ । नयाँपत्रिका दैनिकबाट,