कोरोना संक्रमितलाइ कुटपिट गर्ने माथि छानविन गर्न समिति गठन

काठमाडाै,साउन १। कोरोना संक्रमित एक व्यक्तिलाई कुटपिट गरेको घटना छानविन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

 

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनबाट आइसोलेसन लिने क्रममा सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको थियो । कोरोना संक्रमित युवकलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले छानविन समिति गठन गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले घटनाको छनविनका लागि पाँच सदस्यीय समिति गठन गरिएको बताए । ‘समितिलाई सात दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छु,’ एसपी भट्टले भने, ‘प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढ्छ ।

 

भारतबाट आएर क्वारेन्टिनमा रहेका युवकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । आफूसँगै आएका साथीहरु घर जान खोज्दा उनी पनि क्वारेन्टिनबाहिर निस्केका थिए ।

 

संक्रमित व्यक्ति क्वारेन्टिन बाहिर आएको भन्दै इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनले युवकलाई कुटपिट गरेका थिए ।

 

प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका युवकलाई उपचारको सट्टा गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीको उपस्थितिमा पीडित परिवार र प्रहरीबीच ‘कोरोना सन्चो भएपछि’ उपचार गर्ने सहमति गराएर घटनालाई गुपचुप राखिएको थियो ।नागरिकबाट,