कारागारका बन्दी र प्रहरीलाई कोरोना संक्रमण

नेपालगन्ज,साउन २। बाँके जिल्ला कारागारमा २ जनामा कोरोना संक्रमण भएको छ। जेलर देवेन्द्र श्रेष्ठका अनुसार चोरी मुद्दामा धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि थुनामा रहेका नेपालगन्ज उपमहानगरपालिका-६ का २८ वर्षीय युवा र कारागार सुरक्षामा रहेका एक प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।

 

२२ असारमा बिरामी भएर २४ गतेसम्म भेरी अस्पतालमा भर्ना भएका बन्दी र उनको सुरक्षामा रहेका नेपाल प्रहरीका जवानलाई कोरोना भएको जेलर श्रेष्ठले बताए। उनले भने, ‘कारागारभित्रै कोरोना सरेको होइन। अस्पतालमा उपचार गर्न जाँदा सरेको हो। बन्दीको सुरक्षामा गएका प्रहरीमा पनि कोरोना देखिएको छ।

 

संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई कारागारमै अलग्गै कोठामा राखिएको छ। संक्रमितहरुलाई भने बिहीबार नै खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले भने संक्रमितको सम्पर्कमा रहेका व्यक्तिका परिवारका सदस्य र साथीहरुको कन्ट्याक्ट टेसिङ गरी कोरोना परीक्षणको तयारी गरिरहेको बताएका छन्।

 

बाँके जिल्ला कारागारमा सात सय ७७ जना कैदीबन्दी छन्। जहाँ महिला ४९ र २ बालबालिका रहेको कारागार प्रशासनले जनाएको छ। उनीहरुले पटक पटक कोरोना परीक्षणको माग गर्दा पनि बेवास्ता गरिँदै आएको छ।

अन्नपूणबाट,