भारी वर्षाको सम्भावना सबैमा सतर्क रहन आग्रह

काठमाडौँ, साउन ३ । मुलुकका विभिन्न भू–भागमा साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना छ । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका कारण धनजनको क्षति धेरै भएको स्पष्ट पार्दै अब आउने मनसुनका कारण बाढीसँंगै तराईका जिल्ला डुबान हुन सक्ने जनाएको छ ।

विपद्को पूर्वतयारी, उद्धार, उपचार, पुनस्र्थापना र राहत वितरणका सम्बन्धमा शुक्रबार सञ्चारकर्मीलाई जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले मानवीय क्षति घटाउन सतर्क रहनु नै महìवपूर्ण हुने बताउनुभयो ।

 

मनसुन सक्रिय भएको एक महिनाको अवधिमा पहिरोमा परी २० जिल्लामा १०१ को मृत्यु, ५१ बेपत्ता, ४९ जना घाइते र १३६ घरमा क्षति पुगेको जानकारी दिनुभयो । खराब मौसमका कारण उद्धार र राहत वितरणमा केही ढिलाइ भइरहेको स्वीकार्नुभयो ।

जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै उहाँले मनसुन न्यून चापीय रेखा अबको तीन दिनपछि दक्षिणबाट उत्तरतर्फ सक्रिय हुँदै जाने भएकाले पाँच दिनसम्म लगातार वर्षा हुने जानकारी दिनुभयो ।

 

सम्भावित जोखिम कम गर्न सरकारी तथा गैरसरकारी साझेदार सङ्घसंस्थासँंग सहकार्य र सूचना आदानप्रदान गर्ने कार्य तीव्र बनाइएको र आवश्यक पूर्वतयारी स्वरूप हेलिकोप्टर सहितको उद्धार टोली पूर्ण अवस्थामा राखिएको उहाँले स्पष्ट गर्नुभयो ।

प्रत्येक जिल्लामा सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय स्वयंसेवक सहभागी रहेको ५० जनाको उद्धार टोली, राहत सामग्री तथा औषधि उपचारका लागि हेलिकोप्टर सहितको थप सहयोगी टोली प्रदेशमा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

तराईमा डुङ्गा, डोरी, लाइफ ज्याकेट लगायत उद्धार सामग्रीको व्यवस्था गरिएको छ । पुल भत्किएमा बेलिब्रिज, अस्थायी आवासका लागि टेन्ट र त्रिपालको भण्डारण गरिएको छ । बाढी आएमा उद्धार गर्न तुरुन्त परिचालन हुनेगरी संयन्त्र निर्माण गरिएको छ ।

 

मनसुन सक्रिय भएयता मुलुकका १६३ स्थानमा पहिरो गएको छ । यस वर्ष चैत÷वैशाखदेखि नै वर्षा हुन थालेका कारण भारी वर्षा हुँदा पहिरोले बढी क्षति पु¥याएको प्राधिकरणले जनाएको छ । यस वर्ष औसतभन्दा बढी वर्षा भएको छ ।गाेरखापत्रबाट,