वि.पीको समाजवाद र वर्तमान कांग्रेस

बिपीको राष्ट्रियतासँगै जोडिएर आउने कुरा नै समाजवाद हो । समाजवादबारे धारणा राख्दा “साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्दछ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ’ भन्नुहुन्थ्यो । स्वयम् कोइरालाले “म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी हुँ” भन्नु भएको छ । राजनीतिमा संविधान, नीति नियम, कानुन हुन्छन् राजनीतिकर्मी त्यसमा बाँधिनुपर्छ तर साहित्यकार स्वतन्त्र भएर कलम चलाउँन पाउँछ, र स्वतन्त्र सिर्जनाले स्वतन्त्र पहिचान दिन्छ । साहेद त्यसैले होला कोइरालाले आफ्ना साहित्यिक कृर्तिहरूमा पात्रहरूलाइ पनि समाजवादी धारमा उभ्याउँनु भएकोछ । आफुले पुरा गर्न नसकेका सामाजिक कार्य साहित्य मार्फत व्यक्त गरेर पछिल्ला पिँढीले बुझेर कार्य पुरा गरोस् भन्ने हेतु रहेको कुरा बुझ्दा अनुपयुक्त नहोला । बहुआयामिक व्यक्तित्वका धनी कोइराला विश्व इतिहाँसमा राजनीतिक र साहित्यिक दुबै विधामा सफल हुने थोरै व्यक्तिका रूपमा गनिनु हुन्छ । जुन नेपाल र नेपाली जनताको गाैरवकाे कुरा पनि हो । 

  

तत्कालिन अवस्थामा समाजवाद भनेपछि कम्युनिस्ट ठानिन्थे । त्यसैले विश्व राजनीतिमा कम्युनिस्टभन्दा आफूलाई फरक देखाउन राजनीतिक चिन्तकले समाजवादमा ‘प्रजातान्त्रिक’ विशेषण थप्ने गर्दथे । कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको ठाउँमा उभ्याउन वि.पीले नेपालमा पनि समाजवाद भित्र्याउनु भएको हो । राजनीतिमा समाजवाद शब्दको प्रयोग पहिलोपटक ‘पुअर म्यान्स गार्जन’ भन्ने पत्रिकामा सन् १८३३ मा भयो।

रबर्ट ओबेन, रेब्यान्ड, फरियर, साइमनजस्ता विद्वान्हरूले यसबारेमा अवधारणा बनाएका थिए । पछि माक्र्स र एन्जेल्सहरूले पनि समाजवादबारे व्याख्या गरेपछि साइमनहरूको समाजवादलाई काल्पनिक (युटोपियन) समाजवाद भनियो । माक्र्सको समाजवादलाई वैज्ञानिक समाजवाद भनियो । यसरी समाजवादबारे सबैले आआफ्नै तरिकाले व्याख्या गर्ने गरेका थिए । यिनै कुरालाई राम्ररी बुझ्नुभएका कोइरालाले प्रजातान्त्रिक तवरले समाजवादमा पुग्न सकिन्छ भन्ने मान्यतामा नेपाली माटो सुहाउँदो विकासवादी समाजवादको परिकल्पना गर्नुभयो । कोइरालाले परिकल्पना गरेको समाजबाद किसान समाजबाद थियो ।

 

अहिले पार्टी भित्र हावी हुँदै गएका सुकिला मुकिलाहरूको र हनुमान, झोले, चाकडी, चाप्लुसी, जुठे, खुरापाति, दहिचिउरेहरूको भलाइका लागि थिएन । जुन नीती तथा कार्यक्रमले गाउँका किसानको भलाई गर्छ त्यो नै समाजवाद हो भन्नु भएकोछ । नेपालको अधिकांश भुभाग गाउँको छ र नेपाली जनता किसान नै छन्, ‘म नेपालको बारेमा सोच्छु, तिनै रोगी, ओखती गर्न नपाएका, खान नपाएका, पढ्न नपाएकाहरुको अनुहार स्मृतिमा आउँछ, जुन नीति तथा कार्यक्रमले किसानको भलाई गर्छ, त्यो नै समाजवाद हो । तर आजको परिवेशमा कृषिको आधुनिकिकरण विना समाजवाद संभव छैन त्यसमा जोड दिनुपर्छ भन्नुहुन्थ्यो । समाजवादलाई “एउटा झुपडी, एक हल गोरु, एउटा दुहुनो गाई र खेतसँग जोड्नुभयो, हरेक नेपालीले यी चिजहरू प्राप्त गर्न सक्ने अवस्था नै समाजवाद हो” भन्नुभयो ।

 

मेलमिलापको नीति लिएर स्वदेश फर्किदा राजा र मेरो घाँटी जोडिएकोछ भन्ने कुरा गरेकोले बीपी भएको भए कांग्रेस गणतन्त्रमा जान्थ्यो वा जान्नथ्यो भन्ने बहस गर्नुको कुनै अर्थै नै छैन । किनकि बीपीको स्पष्ट मान्यता थियो कानून नमान्ने राजालाई हटाउन नसक्नु जनताको लाचारी हुनेछ । राजालाई प्रजातन्त्र नचाहिए मलाई वा नेपाली काँग्रेसलाई पनि राजा वा राजतन्त्र चाहिदैन” भन्नु भएको थियो । वि.पी समुन्नत वा समृद्ध राष्ट्रका लागि राष्ट्रवादी र प्रजातन्त्रवादीका बिच न्युनतम एकता र सहअस्तित्व चाहानुहुन्थ्यो ।

 

राजनीति वा सत्ताका लागि प्रतिस्पर्धा गर्दै गरोँला तर राष्ट्र र राष्ट्रीयताको लागि राष्ट्रवादी र प्रजातन्त्रवादी बिचको बलियो एकतालाई अपरिहार्य ठान्नु हुन्थ्यो । वि.पीका आलेखहरूमा राजसंस्थाले अन्तरिम महत्व पाएको छ तर अनन्तकालीन स्वीकारोक्ति पाएको छैन । लोकतन्त्रका लागि आवश्यक संस्थाहरू निर्माण नभइसकेको अवस्थामा संवैधानिक राजसंस्था लोकतन्त्रको संस्थागत विकासका लागि सहयोगी हुने अपेक्षा चाहिँ थियो । र आज पनि त राष्टाध्यक्षका कतिपय व्यवहारले राजसंस्था नै ठिक थियो कि ? भन्ने बहस चर्को रूपमा उठिरहेको छ ।

 

राजाले आफुलाइ मृत्युदण्डसम्म दिनसक्ने सम्भावना हुँदाहुँदै आठ वर्ष लामो प्रवास बसाइपछि २०३३ पुस १६ मा नेपाल फर्कनु भयो । त्यसले राष्ट्र र राष्ट्रियताका लागि जीवनसँग खतरा मोल्न सक्ने नेताका रूपमा उभ्यायो । विदेशी जोखिमभन्दा स्वदेशी जोखिमको सिकार हुनु नै गौरव र प्रतिष्ठाको विषय हो भन्ने सन्देश पनि दियो । नेपालको सार्वभौमिकता रक्षा गर्नु सबैको कर्तव्य हो । जो जहाँ जसरी रहे पनि नेपाली राष्ट्रियताको बिन्दुमा सबै मिल्नुपर्छ, राष्ट्रियताजस्तो कुरा प्रजातान्त्रिक शक्तिहरूसँग मात्र नभई राजसँग पनि छ भन्नेर सन्देश गराउनु थियो । वि.पी गतिशील राजनेता हुनुहुन्थ्यो भन्ने कुरा त उहाँका आलेख र साहित्यिक कृतिले नै अझ स्पष्ट पारिदिएका छन् । मुखले होइन व्यवहारले समावेशी, सहभागितामूलक लोकतन्त्रमा जोड दिनुहुन्थ्यो । बिपीले नेतृत्व गरेको सरकार अहिलेसम्मकै समावेशी देखिनाको कारण हो ।

 

जनताको बृहत्तर सहभागिता विनाको विकास अपुरो र अल्पकालीन हुने उल्लेख गर्नुभएको छ । प्रारम्भमै वि.पीले नै लेख्नु भएको नेपाली कांग्रेसको घोषणापत्र २००६ बाटै संविधानसभाको निर्वाचन, त्यसबाट गठित संविधानसभाका सदस्य, जनप्रतिनीधिहरुबाट नेपाली जनताको गरिबी, अभाव, पछौटेपन भोक, रोग, अशिक्षा, रुढीवाद, कुरीति, सबैखाले शोषण र कुप्रथाबाट आक्रान्त अनगिन्ती नेपालीहरुको अनुहार, दिनचर्या र अबस्थालाई हेरेर राष्ट्र वा सरकारले त्यसकालागि प्रजातान्त्रिक, संविधान र कानुनको निर्माण विधिको शासन नेपालको अवस्था र परिवेशले खोजेको प्रभावकारी योजना र कार्यक्रमको तर्जुमा र कार्यान्वयनको सुन्दर सपनालाइ साकार पार्ने अठोट गर्नु भएको थियो।

 

 स्मरण रहोस् अबको पन्ध्र वर्षभित्र सबै नेपालीको स्तर मेरै जत्तिको बनाउँछु भनेर उद्घोष गर्नु भएको थियो । विकसित देशहरूले एक शताब्दी लगाएर गरेको विकासको अनुभवबाट प्ररेणा लिएर नेपालले एक दशाब्दीभित्रै तिनिहरूको हाराहारीमा पुग्नुपर्छ भन्ने अठोट योजनाका साथ सत्ता सम्हालेपछि फागुन ७ गते प्रजातन्त्र दिवशको दिनलाइ अवसर पारेर सन्देश दिन सरकारबाट देशभरि ठाउँ ठाउँमा विकास निर्माणका कामको शिलान्याँस र उद्घाटन गरिएका थिए ।

 

राष्ट्रियताको सवालमा बीपीका चार बुँदाहरू थिए  १. जनता हुन्छन्, २. जनताका अगाडि समस्या हुन्छन् ३. समस्या हल गर्न जनताले सामूहिक पहल गर्दछन् ४. त्यो पहलकदमीमा आउने भावना नै राष्ट्रियता हो । नेपाल र नेपाली जनताको स्वतन्त्रता, स्वाभीमान, अखण्डता र बलियो राष्ट्रिय एकताको जगमा मात्र प्रजातन्त्र वा लोकतन्त्रको शुरक्षित भविष्य छ भन्नु हुन्थ्यो । पहाडे वा मधेसे भावनाले मुलुकको उन्नति हुँदैन, राष्ट भनेको भुगोल मात्रै होइन जनताको भावना पनि हुन्छ भनेरै तराईको नागरिकतादेखि कर्णालीको पछौटेपन सम्मको समस्या समाधानका लागि स्पष्ट दृष्टिकोण र योजना थिए । दुर्भाग्य राजाको अतिमहत्वकाँक्षीले गर्दा पुरा हुन सकेनन् । बरू कांग्रेसले पटक पटक सरकारको नेतृत्व गर्दा वि.पीले खेलेको भूमिकालाइ आत्मसाथ गरि न्याय हुने कार्य गर्न नसक्नु चाहिं दुर्भाग्य बन्न पुग्यो । उदारिकरणका नाममा वि.पीले परिकल्पना गरेको समाजवादलाइ समयानुसार नयाँ ढङ्गले परिमार्जित गर्दै लैजानुको साँटो निजिकरणको ऐन ल्याएर समाजवाद औझेल पार्ने काम कांग्रेसबाटै हुन गयो ।

 

त्यसपछि नागरिकको आँखाबाट काँग्रेसको विकल्प खोजी सुरू हुन थालेको हो । बिपीलाई जुन राजनीतिक उचाइ दिइएर स्मरण गरिन्छ, त्यति गहनताका साथ अनुयायीहरूले प्रजातान्त्रिक समाजवादको मूल्य मान्यतालाई पनि संस्थागत गर्न आफूलाई परिमार्जित गर्नुपर्ने आवश्यकता देखिन्छ । अहिले कांग्रेसभित्र देखिदै गएका गतिविधीले कांग्रेस नयाँ इतिहाँस स्थापित गर्छ भन्ने जनताले आश गरिसकेका छैनन् । स्थापित इतिहाँस पनि कांग्रेसले जोगाउन नसक्ने हो कि भन्ने पिरलो चाँहि आमजनताले गरेका छन्, त्यो नकार्नु हुँदैन ।

 

प्रजातन्त्र र समाजवाद फरक फरक शब्द हुन् । प्रजातन्त्रले शासन व्यवस्थालाई हेर्छ भने समाजवादले आर्थिक व्यवस्थालाई । विपीले परिकल्पना गरेको समाजवाद स्रोत र साधनको मालिक जनता र शासनको मालिक पनि जनता हुनुपर्छ । पुँजिवादमा राज्यमा उपलब्ध स्रोत, साधन, उत्पादन र वितरण व्यक्तिहरूमा मात्र सीमित हुन्छन् । त्यसले सबैको भलाइ गर्दैन । हुनेखाने र हूँदा खाने अन्य तत्वहरूले धनी र गरिब बिचको खाडल रहिरहन्छन । समानता कहिलै हुदैन । पुँजीपति वर्गले श्रमिक वर्गमाथि सधै शोषण गरिरहन्छ । श्रमिकले श्रमको उचित मुल्य कहिल्यै पाऊदैन । धनी र गरिब बिचको समाजमा असमानता रहिरहन्छ त्यसको विपरित समाजवादले सामाजिक स्वामित्व हुनुपर्छ भन्ने मान्यता राख्दछ त्यसैले नेपालमा समाजवादको अपरिहार्यता छ भन्नु हुन्थ्यो । 

 

बिपीले भन्नु भएको थियो “एक दिन पार्टी भित्र सुकिला मुकिला हावी हुने छन र पार्टी जोगाउन ईमान्दार कार्यकर्ताहरुले पार्टी भित्रै सँघर्ष गर्नु पर्ने अवस्था आउने छ” आज सुकिला मुकिलाहरूको बिगबिगी त छ नै हनुमान, झोलेबाद, चाकडीवाद, चाप्लुसीवाद, जुठेवाद सँगै नातावाद, कृपावाद, गुटगतवाद, भाइ भतिजावाद झन् बढ्ता हावी हुँदै गएको छ । पार्टी भनेको आफुपछी लागेको नेता वा त्यो गुटको हो र उसले जे बोल्छ त्यो नै पार्टीको कुरा हो ठान्ने ठुलै जमात छ । जो आएपनि कांग्रेस नै आउने त हो भनेर योग्यता र क्षमता र अग्रजलाइ अवहेलना गर्नाले कांग्रेसको उदोगति लाग्दै गइरहेको छ । कांग्रेस व्यक्ति होइन पध्दति हो ।

 

अहिले पार्टीमा कार्यकर्ताको निष्ठा, ईमान्दारिता, नैतिकता, सामाजिक प्रतिष्ठा, योग्यता र योगदान ओझेलमा पर्दै गएको छ । ईमान्दार क्षमतावान कार्यकर्तालाई बेवास्ता गर्दै आफ्ना गुटका नेताले जे जे भने पनि सत्य ठान्ने इतर पक्षको खोइरो खन्ने प्रवृति बढ्दो छ । आफ्नाको जायज नाजायायज हरेक कुरा मान्ने, सहि र तार्किक रूपले प्रतिबाद गर्न नसक्ने, बैचारिक रुपमा कमजोरहरूको उपस्थिति बाग्लिदै जाँदा अपेक्षा अनुरूप काँग्रेसले जनचाहाना अनुरूपका कार्यक्रम ल्याउन सकेको छैन । जबसम्म पार्टी भित्र ईमान्दार र क्षमतावान कार्यकर्तालाइ स्थान दिइदैन तवसम्म पार्टीले जनताको मनमा ठाउँ पाउँने पनि देखिदैन । नेता त रहलान् तर पुरानै शाखमा फर्किन कांग्रेसलाइ फलामको चिउरा चपाउँनु सरह हुने देखिदै गएको छ।