असोजमा कक्षा १२ को परीक्षा गर्ने तयारी, कक्षा ११ मा डी प्लस नल्याए १२ भर्ना हुन नपाउने

काठमाडौं,साउन,७ । कक्षा १२ को परीक्षा दसैंअघि नै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ। सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी थालेकाे छ ।

 

असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य छ। 

 

बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी कार्यविधि पनि पारित गरेको छ । कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिने निर्णय गरिसकेको र त्यसका लागि कार्यविधि पनि पारित भइसकेको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिए ।

 बोर्डले कक्षा ११ को परीक्षा र मार्किङको कार्यविधि पनि पारित गरेको छ। असोज लागेलगत्तै कक्षा १२ को परीक्षा गर्ने तयारी बोर्डले गरिरहेको उनले जानकारी दिए छ। 

 

बोर्डले पारित गरेको कार्यविधि अनुसार कक्षा ११ को परीक्षा, प्रमाणीकरण एवं मूल्यांकन विद्यालयले नै गर्ने, कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ। सोहीअनुसार ग्रेडिङ गर्ने,पाठ्यक्रमअनुसारै प्रश्‍नपत्र निकाल्नुपर्ने छ। कार्यविधिअनुसार कक्षा ११ मा डी प्लसको ग्रेडिङ नआएका विद्यार्थी कक्षा १२ मा भर्ना हुन नपाउने भएका छन् ।