तरकारीको मूल्य वृद्धि ५० देखि १५० प्रतिशतसम्म बढ्यो

काठमाडौं,साउन ८ । लगातारको वर्षाका कारण बाढीपहिरोबाट सडक सम्पर्क टुट्दा कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आपूर्ति घटेको छ । तरकारीको आपूर्ति घटेपछि यसको मूल्य वृद्धि हुन थालेको छ ।

 

सामान्य अवस्थामा दैनिक ७/८ सय टन तरकारी आपूर्ति हुने गरेको कालीमाटी तरकारी बजारमा बन्दाबन्दीका समयमा दैनिक आपूर्ति घटेर ४/५ सय टनमा सीमित भएको थियो । लगातार वर्षाका कारण देशका धेरै ठाउँमा पहिरोबाढीले गर्दा बाटो अवरुद्ध भएपछि दैनिक तरकारी आपूर्ति अझै कम भई २ सय टनमा झरेको छ ।

 

सोमवार ३ सय २७ टन, मंगलवार २ सय ९७ टन र बुधवार दिउँसोसम्म १ सय ७० टन मात्रै तरकारी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार बन्दाबन्दीमा स्कूल, कलेज, होटेल, रेस्टुराँहरू नखुल्दा माग घट्न गई तरकारी आपूर्तिको परिमाण बन्दाबन्दी खुकुलो भए पनि बढ्न सकेको छैन ।

 

यस समयमा करीब ७ सय टनको हाराहारीमा तरकारी भित्रिनुपर्ने भए तापनि बाढीपहिरोले बाटो अवरुद्ध हुँदा तरकारी आपूर्ति निकै कम भएको उनले बताए । ‘अहिले तरकारी राम्रो उत्पादन हुने सिजन पनि होइन । त्यसमाथि आपूर्ति घटेपछि भाउ बढ्ने निश्चित छ,’ उनले भने ।

 

कालीमाटी बजारको दैनिक मूल्य सूचीअनुसार गएको १ हप्तामा सानो गोलभेडा, मुडेको आलु, लोकल बन्दा, मुला, घिउ सिमी, भटमास कोसा, परवर, भिन्डीलगायत अधिकांश तरकारीको मूल्य बढेको छ ।

 

असार ३१ गते औसत थोक मूल्य प्रतिकेजी १२ रुपैयाँमा विक्री भइरहेको सानो गोलभेडाको मूल्य असार ७ गते सम्ममा ५० प्रतिशतले वृद्धि भई प्रतिकेजी १८ रुपैयाँ पुगेको छ । १ हप्ताको अवधिमा लोकल बन्दाको औसत थोक मूल्य करीब १ सय ११ प्रतिशतले वृद्धि हुँदै प्रतिकेजी १८ रुपैयाँबाट ३८ रुपैयाँ पुगेको छ । घिउ सिमीको मूल्यमा १ सय ५ प्रतिशतले वृद्धि भई प्रतिकेजी ३८ रुपैयाँबाट ७८ रुपैयाँ पुगेको छ।

 

भिन्डीको मूल्यमा ५२ प्रतिशतले वृद्धि भई प्रतिकेजी ३८ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ । भटमास कोसाको मूल्यमा पनि करीब ४० प्रतिशतले वृद्धि भई प्रतिकेजी ६८ रुपैयाँबाट ९८ रुपैयाँ पुगेको छ । बाटो अवरुद्ध भएकाले तरकारीको आपूर्ति घटेकाले मूल्य अझै बढ्न सक्ने सूचना अधिकृत श्रेष्ठको आकलन छ ।

 

वर्षात्को समयमा तरकारीको उत्पादन कम हुने भएकाले हरेक वर्ष यो मौसममा तरकारीको मूल्य बढ्ने गरेको छ । कोरोना त्रासका कारण व्यापारीहरूले भारततिरबाट समेत तरकारी नल्याउँदा अहिले तरकारीको मूल्य बढेको विकास समितिले जानकारी दिएको छ ।

 

कोरोना त्रासकै कारण भारतीय तरकारीको आपूर्ति करीब ८० प्रतिशतले घटेको छ । स्थानीय तरकारीलाई नै बढी प्राथमिकता दिइएकाले पनि भारतीय तरकारीको आयात घटेको कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका सदस्य गीताप्रसाद आचार्यले बताए ।आर्थिक अभियानबाट,