मेलम्चीको पानी अब मङ्सिरमा

काठमाडौँ, साउन १६। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ ।

यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ ।

 

यसका कारण मेलम्ची खानेपानी आयोजनाले पानी आपूर्ति दिने समय कम्तीमा थप दुई महिना ढिला हुने देखिएको छ । पूर्वनिर्धारित समयअनुसार आगामी असोजमा आउने भनिएको मेलम्ची अब कम्तीमा दुई महिना पर धकेलिएको छ ।

 

समितिले अकस्मात् खुलेको गेटसँगै थप दुईवटा गेटको समीक्षा गर्न सुझाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार गेटको ‘नटबोल्ट फेल’ भएर खुल्यो । त्यस कारण डिजाइन र जडानको प्राविधिक पक्षलाई समीक्षा गर्नुपर्ने भएको छ।

प्रवक्ता शाक्यका अनुसार अहिले प्रवेश द्वार बाहिर खोल्ने छ । भित्र खोल्ने भएको भए घटना हँुदैन्थ्यो कि भन्ने देखिन्छ । प्रवेश द्वारको नक्साङ्कन प्रक्रियामै त्रुटि थियो कि भन्ने सम्मको कुराकानी भइरहेको छ । समीक्षा र थप योजना नबनाई पानी पथान्तरणको काम अघि बढाउन नसकिने मन्त्रालयले जनाएको छ ।

 

सरुङ परीक्षण गर्न पानी पथान्तरण गरिएको बेला पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुस्केपछि अकस्मात् प्रवेशद्वार खुलेको थियो । नटबोल्टभन्दा पनि प्रवेश द्वार जडानमा त्रुटि भएको छानबिन समितिले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

 

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा बनेको समितिले मङ्गलबार मन्त्रालयका सचिव माधव बेल्बासेलाई प्रतिवेदन बुझाएको छ ।

 

सुरुङ भित्रको ५२ मिटर उचाइसम्म पानीको दबाब थेग्न सक्ने क्षमताको प्रवेश द्वार जडान गरिएको थियो । तर, १६ मिटर उचाइको पानीमै प्रवेश द्वार खुल्दा दुर्घटना भएको थियो । घटनामा इन्जिनियर सतिश गोइतको शव इन्द्रावती खोलामा अर्को दिन भेटिएको थियो ।

 

चालक राधाकृष्ण थापा अझै बेपत्ता हुनुहुन्छ । घटनापछि पानी पथान्तरणको काम स्थगित छ । हेडवक्र्स निर्माणको काम भइरहेको छ ।गोरखापत्र दैनिकमा खबर छ।