लागू भएन सार्वजनिक यातायातमा मापदण्ड,सर्वसाधारण संक्रमणको जोखिममा

काठमाडाैं,साउन १७। बिहानको करिब ९ बजेको थियो, त्यसमा सिमसिमे पानी । त्यही पानीमा छाता ओढेर कार्यालय जानका लागि सार्वजनिक यातायात कुरिरहेका थिएँ । भक्तपुरको नयाँ ठिमी बस्ने समुन्द्र अधिकारी पनि सार्वजनिक यातायात चढ्न खोजे, तर सकेनन् । फेरि केही समयपछि एउटा माइक्रोबस आयो, उनी चढे तर ड्राइभरले मापदण्डविपरीत सिट नभरुन्जेलसम्म रोकिराखे ।

 

 

सार्वजनिक यातायातमा कुनै मापदण्ड नभएको बिलौना गर्दै उनी भन्छन्, “सहचालकले माक्स लगाउँछ तर नाक र मुख खुला राख्छ । चिउँडोमा मात्र माक्स अड्काउँछ । बसको दायाँपट्टि भागमा सेनिटाइजरको भाँडो छ, तर यात्रुको खचाखचले गर्दा त्यो पनि लगाउन सकिने अवस्था छैन ।

एक त सरकारले तोकेको मापदण्ड पूरा भएको देखिँदैन, अर्को दोब्बर भाडा तिरेर पनि कसरी अव्यवस्थित तरिकाले यात्रा गर्नु रु” उनले सुस्केरा हाल्दै भने, “खाऊँ भने दिनभरिको सिकार, नखाऊँ भने कान्छाबाउको अनुहार भनेजस्तै जागिर नखाऊँ बालबच्चा भोकै, खाऊँ त यस्तो माहामारीमा पनि सार्वजनिक यातायातमा अव्यवस्थित अनि असुरक्षित यात्रा गर्नुपर्ने ।

 

सरकारले भनेको मापदण्ड मात्र पूरा गरे पनि यात्रालाई सहजीकरण गर्न सकिन्थ्यो । दोब्बर भाडा तिर्ने भएपछि त कम्तीमा एउटा सिटमा एक जना मात्र राखेर सामाजिक दूरी कायम गरेर यात्रु राख्दा त भइहाल्थ्यो नि, तर त्यो व्यवहारमा लागू नभएको उनी गुनासो गर्छन् ।

 

यो त भयो अधिकारीले लकडाउन केही खुकुलो भएपछि भक्तपुर–काठमाडौं चल्ने माइक्रोबसमा यात्रा गर्दा भोग्नुपरेको केही अव्यवस्थित यात्रा अनि असुरक्षाको गतिविधि भएको एउटा उदाहरण ।

 

त्यस्तै गरी पेप्सिकोला हुँदै रत्नपार्क चल्ने केही स–साना सार्वजनिक यातायातमा पनि कार्यालय समयमा सिट संख्याभन्दा बढी यात्रु उभिरहेका देखिन्थे । यसरी झनै कोभिड–१९ को जोखिम हुने देखिन्छ । तर, यस्ता सार्वजनिक यातायात पनि छन् जुन सरकारले तोकेको सबै मापदण्ड पूरा पनि गरेका छन् । उदाहरणका लागि साझा यातायात तथा अन्य ठूला सार्वजनिक यातायातलाई लिन सकिन्छ ।

रीना तामाङ पुल्चोक हुँदै रत्नपार्क आइपुग्दासम्म केही हँसिलो हुँदै भन्छिन्, “चालक वा सहचालकले माक्स, पन्जा लगाएका थिए । सिटहरूमा पनि सामाजिक दूरी कायम भएको थियो भने यात्रुहरूका लागि सेनिटाइजरको व्यवस्था समेत भएको थियो ।” साझा यातायात स्टप आउनासाथ धेरै बेर नकुरी गुडिहाल्ने गरेकाले दोब्बर भाडा तिर्दा पनि कुनै अप्ठ्यारो महसुस नभएको उनले बताइन् ।

 

हो, अहिले दिन–प्रतिदिन हाम्रो मुलुकमा कोभिड–१९ को संक्रमण थपिरहेको अवस्था छ भने केही दिनअघिको रिपोर्ट तयार पार्दासम्म काठमाडौं उपत्यकामा मात्रै हालसम्म ४ सय ८९ जना संक्रमित भइसकेका छन् । काठमाडौंको मुटु न्युरोड तथा नक्साल पुलिस हेडक्वार्टरमा समेत २४ जना संक्रमित फेला परिसकेका छन् ।

सचेत हुँदाहुँदै त यसरी महामारीले दिन–प्रतिदिन राजधानीमा कोरोना बढ्दो छ भने झन् सार्वजनिक यातायातमा खचाखच यात्रु राख्दा यसको जोखिम झनै खतरा हुने देखिन्छ । हो, यस्तो विषम परिस्थितिमा रोजीरोटीको सबैलाई माया छ, उत्तिकै जरुरी पनि छ । तर, सरकारको मापदण्डविपरीत कुनै पनि सावधानी नअपनाउँदा भने यसले पछि महमारीले विकराल रूप लिन नसक्ला भन्न सकिन्न ।

 

त्यसैले मापदण्डविपरीत सार्वजनिक यात्रु खचाखच राख्ने यस्ता सवारी साधनलाई सुरक्षा निकाय तथा ट्राफिक प्रहरीले विचार पु-याउनु जरुरी हुन्छ भने यस्तो विषम परिस्थितिमा दोब्बर भाडा लिएर पनि खचाखच यात्रु राख्ने, सुरक्षाका मापदण्ड पूरा नगर्ने सवारी साधनलाई पनि कारबाही गर्नुपर्छ ।

त्यसैले यस्तो विषम परिस्थितिमा आफैं सुरक्षा अपनाएर हिँड्नु उपयुक्त हुन्छ । कुनै पनि सार्वजनिक यातायात, सभा–गोष्ठी तथा सार्वजनिक ठाउँमा सकभर भीडभाड नगराैं, अनावश्यक ठाउँमा नजाऔं, आफू बाँचौं अनि अरूलाई पनि बचाऔं ।काराेबार दैनिकबाट,