कोरोना नियन्त्रणमा स्थानीय तहको सक्रियता घट्दै

काठमाडौँ, साउन १९ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढ्दो क्रममा देखिए पनि स्थानीय तहको सक्रियता भने घट्दो छ । बन्दाबन्दीको प्रारम्भिक चरणमा उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन प्रभावकारी भूमिका खेलेका उपत्यकाका स्थानीय तह बन्दाबन्दी खुला भएपछि भने निष्क्रियजस्तै बनेका छन् ।

स्थानीय तहको सक्रियताकै कारण प्रारम्भिक चरणदेखि जेठ मसान्तसम्म उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण प्रायः जोखिमरहित थियो । सरकारले बन्दाबन्दी खुला गरेसँगै स्थानीय तहको सक्रियता कम भएपछि उपत्यकामा कोरोना सङ्क्रमणको उच्च खतरा बढ्दै गएको छ ।

 

प्रारम्भिक चरणमा उपत्यकाका १८ वटै नगरपालिकाले निश्चित सङ्ख्यामा सामुदायिक भवन, विद्यालय र होटलमा क्वारेन्टाइन निर्माण गरे पनि अहिले कतिपय स्थानीय तहमा ती क्वारेन्टाइन बन्द गरिएको छ । सेनिटाइजर, पन्जा, मास्क वितरण, आवश्यकताअनुसार हेल्थ डेस्क राख्ने, टोलटोलमा घुम्ती अनुगमन गर्ने, माइकिङ जस्ता काम गरिएको थियो ।

 

अहिले उपत्यकाबाहिर र विदेशबाट आएका नागरिक होम क्वारेन्टाइनमा बसे पनि बसाइ व्यवस्थित हुन नसकेपछि समुदायमा कोरोना सङ्क्रमण फैलन सक्ने खतरा बढ्दै गएको उपत्यका नगरपालिका फोरमले जनाएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले अब कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा स्थानीय तह थकित हुँदै गएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “जता हे¥यो त्यतै समस्या छ, कहाँ मात्र ध्यान पु¥याउने रु स्थानीय तहसँग भएको साधन र स्रोत हालसम्म कोरोना नियन्त्रणमै खर्च भएकाले अब स्रोत अभाव भएको छ ।

 

सरकारले स्थानीय तहलाई स्रोत मात्र नभई पीडित पक्षलाई आवश्यकताअनुसार राहत दिने हो भने व्यवस्थापकीय काम गर्न स्थानीय तह सक्षम छन् । 

उहाँले जनताका सबै समस्यासँग स्थानीय तह जुध्नुपर्ने तर सङ्घीय र प्रदेश सरकारलाई निर्देशन मात्र गरे पुग्ने गरेको गुनासो गर्नुभयो । उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा स्थानीय तहले थप सक्रियता बढाउनुपर्ने अवस्था आएको बताउनुुभयो ।

 

त्यसका लागि सम्बन्धित स्थानीय तह आफैँ जागरुक हुनुपर्ने भएकाले ललितपुर महानगरपालिकाले क्वारेन्टाइनको विकल्पमा होल्डिङ सेन्टर निर्माण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्वारेन्टाइनभन्दा हाम्रो समाजमा नकारात्मक धारणा बस्ने भएकाले होल्डिङ सेन्टरको नाम दिएर क्वारेन्टाइनका सबै सुविधा प्रदान गरिएको छ । 

 

महर्जनले पछिल्लो समय उपत्यकामा बढ्दै गएको भाइरस सङ्क्रमण न्यून गर्न भने थप सजग हुनुपर्ने बताउनुुभयो ।
महर्जनका अनुसार ललितपुर महानगरपालिका–४ स्थित बागडोलमा रहेको ज्यापू समाजको वृद्धाश्रममा ११० जना क्षमताको होल्डिङ सेन्टर निर्माण गरिएको छ । त्यस्तै विदेशबाट आएका महिलालाई राख्न महानगरपालिका–२६ को सुनाकोठीमा २४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ ।

सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड जारी गरे पनि उपत्यकामा निर्माण भएका क्वारेन्टाइन मापदण्डअनुसार छैनन् । उपत्यकाका स्थानीय तहले केही सङ्ख्यामा क्वारेन्टाइन निर्माण गरे पनि ती मापदण्डअनुसार नभएको उपत्यकाका तीनवटै जिल्लाका सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले जनाएका छन् ।

 

उपत्यकामा भएका क्वारेन्टाइन मापदण्डबिनै निर्माण भएको भक्तपुर सङ्कट व्यवस्थापन केन्द्रका सल्लाहकार एवं जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ।