सत्ताधारी नेकपाका शिर्ष नेता गाईजात्राका प्रमुख पात्र : नेकपा फुटला कि नफुट्ला ?

 

 

नेपालमा गाईजात्रा पर्व चलिरहेको छ । यसपटकको राजनीतिक गाईजात्राका प्रमुख पात्रहरु पनि सत्ताधारी नेकपाका शिर्ष नेताहरु छन् : के पी शर्मा ओली र प्रचण्ड । नेपाली जनता वाक्क लागुन्जेल यो गाईजात्रा हेर्न वाध्य छन् । यसको परिणाम के आउला भन्ने जिज्ञासा सर्बत्र छ । सत्ताधारी नेकपा फुट्ला कि नफुट्ला? भन्ने प्रश्न सर्बत्र उठिरहेको छ । यसबारे केही तथ्य र केही अनुमानका विषयमा यहाँ चर्चा गर्ने प्रयत्न गरिएको छ ।

नेकपा भित्र खोई आदर्श 

केही महिनादेखि सत्ताधारी नेकपामा जुन किचलो चलिरहेको छ, त्यो एउटै पार्टी भित्र चल्ने भन्दा भिन्न चरणमा पुगि सकेको छ । नेतृत्वहरुबाटै पत्रकार सम्मेलन नै गरेर एक अर्कालाइृ खुइल्याउने काम भैरहेको छ । तर, पार्टी फुटेको छैन । सरकार ढलेको छैन । उनीहरु सबै आफ्आफ्ना जागिरमा,पदहरुमा, सुविधाहरुमा मस्त नै देखिन्छन् । त्यहाँ भित्र शासकको भूमिका खेलीरहेकाहरु पार्टी फुट्दैन भन्नेमा ढुक्क देखिन्छन् ।

 

आखिर उनीहरुले एक अर्कालाई राम्रो सँग चिनेकै छन् । बाहिरका मानिसलाई सक्सक् लागेको जस्तो भएको छ । यसमा यस्तै हुन्छ त भन्न सकिने स्थिती छैन । तर, यसमा अन्तर्निहीत कारण हेर्दा के अनुमान गर्न सकिन्छ भने यो पार्टी यतिखेरै फुट्दैन । दुई विपरीत पार्टी मिलेर एउटा पार्टी बन्नु पर्ने कारण देखि लिएर यतिबेला सम्म देखा परेको पद र प्रतिष्ठाको मोह नै प्रमुख कारण देखिन्छ । पार्टी कसैगरी आधिकारिक रुपमा फुट नै भैहाल्यो भने त यो खाई पाई आएको केही चिज गुम्ने खतरा हुन्छ । त्यो खतरा मोल्न त्यहाँ कोही तयार भएको देखिन्न ।

 

 

यहि यस्तो प्रभावकारी कारण हो जस्ले गर्दा त्यहाँ फुट नै भैहाल्ने स्थिति देखिँदैन । यो विषयमा त्यहाँ भित्रका सबै सचेत छन् । त्यो अवस्था आउन नदिनका लागि उनीहरु टुप्पीदेखि पैताला सम्म्को बल लगाएर लागेका छन् । राजनीतिलाई व्यक्तिगत लाभको विषय बनाउनेहरुको बढी बोलवाला भएको पार्टी भएको हुनाले त्यहाँ आदर्शको रक्षाका लागि त्याग गर्ने भन्ने चिन्तन र व्यवहारको आसा गर्न सकिएला जस्तो लाग्दैन । आदर्शका लागि अहिले उपभोग गरिरहेका सुख, सुविधा, हैकम् आदिलाई त्याग्न कोही राजी होला त रु अहिले सम्म त त्यस्तो संकेत देखिएको छैन ।

के पी ओलीको “क्षमता”

हिजो आज नेकपा जस्तो पार्टीको र त्यही पार्टीको सरकारको प्रमुख बन्नका लागि “क्षमतावान्” नेता के पी शर्मा ओली नै हुन् भनेको पर्याप्त पढ्न र सुन्न पाइन्छ । चार चार जना प्रधान मन्त्री र अनगिन्ती मन्त्रीहरु भैसकेकाहरुको पार्टीमा उनलाई मात्र यो उपाधि किन दिएका होलान् ? भन्ने लाग्दथ्यो । तर अहिले आएर त यो पंंक्तीकारलाई पनि साँच्चै हो कि क्या हो भन्ने लाग्न थालेको छ ।

 

उनको सबै भन्दा ठुलो क्षमता रहेछ – सबैको नाडी छाम्न सक्ने, सबैका सीमा र कमजोरीको दोहन गर्न सक्ने । पार्टीमा सबै किसिमका निर्णय गर्न सक्ने अधिकार प्राप्त स्थायी समिति र केन्द्रीय समितिमा पार्टी भित्रका विरोधी पक्षका नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ आदि बहुमतमा छन् । केपी शर्मा ओली अल्पमतमा छन् । तर, पार्टी र सरकार दुबैमा उनी हावी छन् ।

 

अल्पमत पक्षले बहुमत पक्ष माथि शासन गरिरहेको छ । उनले समकक्षीसँग याचना गरिरहेको देखिँदैन, बरु बहुमत पक्षका नेताहरुनै उनीसँग याचना गरिरहेका देखिन्छन् । उनले सबै कुरा हाकाहाकी भन्ने गरेको सुनिन्छ । उनले स्पष्ट शव्दमा भनेको कुरा सार्वजनिक भएको छ : पार्टीमा तपाईंहरुको बहुमत छ, मलाई कारवाही गर्नुस् । म पार्टी फुटाइदिन्छु ।” त्यती भनिदिए पछि सबै शिर्ष नेताहरु लत्रक्क पर्ने गरेका छन् ।

 

उनीहरुको सातो जाने गरेको पाइन्छ । बहुमत पक्षका दोस्रो पिँढीका युबा नेताको डेलिगेसन नै आएर ‘यसो गरिदिनु भएन । हाम्रो पनि मुख हेरिदिनु प¥यो ।’ भनेर विन्ती भाउ गर्छन् । सचिवालयकै दुई तीन जनाले त कित्तै परिवर्तन गरेर उनी सँग आइ सके भन्ने खवर आइरहेको छ ।

 

स्थायी समितिबाट त धेरैले गूट बदले भन्ने छ । नेतृत्वमा भएको यो गलफद्दी जति लम्बियो त्यती फाइदा उनैलाई पुगिरहेको देखिन्छ । केही दिन सम्म सचिवालयमा उनी अल्पमतमा थिए । तर, अहिले उनी त्यो समितिमा बहुमतमा पुगिसके भन्ने समाचार छ ।

 

उनले “वार्ता”का सिलसिलामा “तपाईंहरु सँग संसदीय दलमा दुई चार जना बढी छन् । तिनलाई म तिर तानि दिन्छु” भने भन्ने कुरा आइरहेको छ। जब सचिवालयमा त कित्ता परिवर्तन भयो भने संसदीय दलमा नहुने भन्ने के कुरा भयो र रु केपीओलीको आफ्नो किसिमको यो क्षमतालाई त मान्नै प¥यो नि । होइन र ?

नेकपा फुट्ने संभावना कम

ओलीजी सँग पार्टी फुटाइ दिन्छु भन्ने र फुटाइ दिन पनि सक्ने अचुक हतियार साथैमा छ । त्यसलाई उनले धारलगाएर, सान चढाएर राखेका छन्। यहि हतियारले उनले सबैको भयदोहन गरिरहेका छन् । यसबाट के अनुमान लगाउन सकिन्छ भने जब सम्म केपीओलीे आफैंले पार्टी फुटाउँनु आवश्यक ठान्दैनन्, तब सम्म सत्तारुढ नेकपा फुट्दैन । यतिखेर सम्म आफ्नो मर्जी अनुसार निर्णय गर्न र लागु गर्न उनलाई कुनै, कतैबाट विघ्न वाधा उत्पन्न भएको छैन ।

 

यस अवस्थामा उनलाई किन पार्टी फुटाउनु परेको छ र रु त्यसकारण, ओलीले यतिखेरै यो पार्टी फुटाउँदैनन् । प्रचण्डले पहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै स्थानबाट राजीनामा मागेका थिए । पछि गएर आफ्नो खुसीले कुनै पनि एउटा पदबाट राजीनामा दिए हुन्छ भन्ने अनुरोध गर्दा पनि ओली मानेनन् । अहिले पनि उनी स्थायी समितिको बैठक त एक प्रकारले वहिष्कार नै गरेका छन् । पार्टीनै अनिर्णयको वन्दी बनेको छ । तर बहुमतले के गर्न सक्यो त रु उनीहरुले ओलीलाई कारवाही गर्ने आँट गर्न सक्ने देखिएन । त्यसकारण, यतिखेरै सत्तारुढ नेकपा फुट्ने संभावना देखिँदैन ।