सुदूरपश्चिम प्रदेशमा एकै दिन बाढी–पहिरोले १० जनाको मृत्यु

 कैलाली,भदाै ३ । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका बितन्डा आज भदाै ३ गते मात्र १० जनाको मृत्यु, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २/२ जनाको मृत्यु भएको छ ।

 

अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेका छन् । 

 

गाउँपालिकाका अनुसार अझै नन्दु साउदको परिवारका १० जना सम्पर्कविहीन रहेकाे जनाएकाे छ।  त्यस्तै बारलाका ४० बर्षका लालसरा शाह र उनका १० वर्षका छोरा पनि बेपत्ता भएका छन् । हिक्मत शाहको २ जनाको परिवार, चन्दे साउद, बासु साउद र जोगा साउद पनि बेपत्ता छन्।

 

 यस्तै एक जनाको शव मंगलसेन ३ स्थित दयमा भन्ने ठाउँमा भेटिएको डीएसपी थापाले जानकारी दिए। बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । बाढीले दर्नाको पक्की पुलसमेत बगाएको छ । बाढीले खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।

 

कैलाश खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बताएको छ । हराइरहेकाहरुको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर अछाम पुगिसकेको छ ।सेनाको हेलिकप्टरमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको छ ।

 

त्यस्तै बझाङको बुंगल नगरपालिका–५ मिडीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेका प्रहरीले जनाएकाे छ। छोरी सुनीता र १२ वर्षकी सन्तोषी र छोरा १६ वर्षका अनिल घाइते भएका छन् । घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

 

बाजुरामा पनि बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका– १ मा मीनबहादुर बुढाको घर पहिरोले पुरिँदा ३ वर्षकी छोरी सुमिका बुढाको मृत्यु भएको छ । उनकै ५ वर्षकी छोरी विनीता, आमा ६५ वर्षकी नन्दादेवी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

बाजुरामै बडिगाढ र धूपे खोलामा आएको बाढीमा बगेर ७५ बर्षका धिनु लुहारको मृत्यु भएको प्रहरीले जनाएकाे छ।  

 

बाजुराका भूपे, बड्डी गाढ खोलामा आएको बाढीले २० घर डुबानमा परेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण आइसकेको छैन ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोले यस वर्षकै सबै भन्दा धेरै मानवीय क्षति भदाै ३ गते  भएको जनाएकाे छ। 

 

‘३ जिल्लामा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ, ४ जिल्लामा १० जना घाइते छन् त्यतिकै संख्यामा बेपत्ता पनि छन्’ उनले भने ‘आज यो बषकै सबै भन्दा ठूलो प्राकृतिक विपत्ति आएको हो ।