देशभर दस हजार ‘साइट’मा इन्टरनेट जडान

काठमाडौँ, भदौ ६ । देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी ‘साइट’मा इन्टरनेट जडान सम्पन्न भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र इन्टरनेट जडान गर्न सञ्चालित यो परियोजनाअन्तर्गत साउन मसान्तसम्म सम्झौता भएका १४ हजार ४६८ साइटमध्ये १० हजार ३६८ मा इन्टरनेट जडान भएको छ ।

 

जडान भएको इन्टरनेटमध्ये ४६६ वटा स्थानीय निकायको कार्यालय, तीन हजार ९१० वडा कार्यालय, तीन हजार २२० माध्यमिक विद्यालय र दुई हजार ७७२ स्वास्थ्य संस्था रहेका छन् । सम्झौता भएका प्याकेजमध्ये अहिलेसम्म ७१.६६ प्रतिशत स्थानमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गतको करिब पाँच अर्ब २७ करोड रुपियाँ लगानीमा देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, सामुदायिक भवन तथा स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र दुई वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउने गरी इन्टरनेटसमेत जडान गर्ने परियोजना सुरु गरेको थियो । अनुमति पत्र सेवा प्रदायकलाई प्याकेजअनुसार इन्टरनेट जडानको जिम्मेवारी दिएर यो काम
भइरहेको छ ।

प्राधिकरणले यो परियोजनालाई कुल १८ वटा प्याकेजमा विभाजन गरेर इन्टरनेट जडानको काम अघि बढाएको छ । अहिलेसम्म १७ वटा प्याकेजमा मात्र सम्झौता भएको छ ।

 

कुल १८ वटा प्याकेजमा गरेर ७०१ वटा स्थानीय तहको कार्यालय, पाँच हजार ९५२ वडा कार्यालय, पाँच हजार ५९७ माध्यमिक विद्यालय र चार हजार ३५१ गरी कुल १६ हजार ६०१ साइटमा इन्टरनेट पु¥याउने प्राधिकरणको योजना छ । यो परियोजनाका लागि अहिलेसम्म दुई अर्ब ४६ करोड ४६ लाख रुपियाँ निकासा भइसकेको प्राधिकरणले जनाएको छ ।गाेरखापत्र दैनिकमा खबर छ।