शैक्षिक सत्र सुरु भएको घोषणा गर्न: प्रदेश र स्थानीय तहको मन्त्रालयलाई सुझाव

काठमाडौं,भदाै ६। शिक्षा मन्त्रालयलाई स्थानीय तहका प्रमुखहरुले शैक्षिक सत्र सुरु भएको घोषणा गर्न सुझाव दिएका छन्। शिक्षामन्त्री गिरीराजमणि पोखरेलसँगको अन्तरक्रियामा उनीहरुले यस्तो सुझाव दिएका हुन्।

 

   विद्यालय शिक्षामा पारेको प्रभाव र भविष्यमा गर्नुपर्ने उपायबारे सुझाव संकलन गर्न मन्त्री पोखरेलले प्रदेश नम्बर एक, दुई, बागमती तथा पाँच नम्बरका सामजिक विकास मन्त्रालयका अधिकारी, प्रमुख, प्रमुख कार्यकारी अधिकृत, शिक्षा शाखाका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लगायतसँग छलफल गरेका थिए।

 

छलफलको क्रममा उनीहरुले शैक्षिक सत्र सुरुवात भएको घोषणा गर्न सकिएमा विद्यार्थीको सिकाइमा उतप्रेरणा जाग्ने तथा शिक्षकलाई जसरी पनि विद्यालय पुग्नैपर्ने बाध्यता हुने बताएका थिए।

 

संक्रमण कारण घर गएका तर लकडाउनका कारण सम्बन्धित विद्यालय भएको ठाउँसम्म पुग्न नसकेको शिक्षकलाई यात्राको लागि सहजीकरण गरिदिन पनि उनीहरुले मन्त्री पोखरेललाई अनुरोध गरेका थिए।

 

 संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्ने निर्णय अधिकार स्थानीय तहलाई नै दिंदा उपयुक्त हुने सहभागीहरूको सझाव रहेकाे थियो। मन्त्री पोखरेलका अनुसार अन्य प्रदेशका जिम्मेवार निकायसँग छलफल गरेर मात्र निर्णय  लिन सकिने बताएका थिए।

 

सरकारले सुरु गरेको वैकल्पिक माध्यमको पढाइ सबै ठाउँमा प्रभावकारी हुन नसकेको उनीहरुको भनाइ थियो। सो अवसरमा मन्त्री पोखरेलले कोभिडको कारण अवस्था प्रतिकुल रहे पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनु अपरिहार्य रहेको बताएका थिए।

 

विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गरेर पढाउन कठिन भएकोले अहिलेको अवस्थामा वैकल्पिक विधिलाई नै प्रभावकारी बनाउनुपर्ने पोखरेलको भनाइ थियो । पाठ्क्रमले तोकेको भार घटाएर वा अन्य विकल्प अपनाएर भएपनि शैक्षिक सत्र खेर जान नहुने पोखरेलले बताए।