चाडपर्व नजिकिँदै गर्दा चिनीको मूल्य बढ्दै : ठूला व्यापारी र उद्योगीहरूले कृत्रिम अभाव गर्दै

काठमाडौं,भदौ ७ । दशैंतिहारलगायत चाडवार्ड नजिकिँदै गर्दा बजारमा चिनीको अभाव र मूल्यवृद्धि हुने देखिएको छ । स्वदेशी चिनी उद्योगले आफूसँग चिनीको स्टक समाप्त भएको बताउँदा तथा सरकारले चिनी आयातको जिम्मा पाएका सरकारी निकायलाई कम परिमाणमा किन्ने अनुमति दिँदा आसन्न दशैंतिहारमा उपभोक्ताले महँगोमा चिनी किन्नुपर्ने अवस्था देखिएको हो ।

 

हरेक वर्ष दशैंतिहारको समय नेपालमा करीब ७० हजार मेट्रिक टन चिनीको माग हुने गरे पनि सरकारले पछिल्लो समय ३० हजार मेट्रिक टन मात्र किन्ने अनुमति दिएपछि अभाव हुने देखिएको हो ।

 

साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार र खाद्य व्यवस्था कम्पनी लिमिटेडलाई १० हजार मेट्रिक टन गरी सरकारले ३० हजार मेट्रिक टन चिनी किन्ने अनुमति दिइएको छ ।

 

बजारमा अहिले नै चिनी अभाव भएको र चाडपर्वको समयमा माग बढ्ने हुँदा साल्ट ट्रेडिङले ५० हजार मेट्रिक टन किन्नका लागि अनुमति माग गरेको थियो ।

 

बजारमा मागअनुसार वस्तु उपलब्ध गराउन नसक्दा मूल्यवृद्धिलाई प्रोत्साहन गर्ने सरोकारवालाहरू बताउँछन् । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार सरकारले ५० हजार मेट्रिक टन चिनी किन्न अनुमति दिएको भए बजारमा हाल भइरहेको कृत्रिम अभाव र मूल्यवृद्धिलाई रोक्न सघाउ पुग्थ्यो ।

तर, माग परिमाणभन्दा कम किन्ने अनुमति दिँदा त्यसले मूल्यवृद्धिलाई सहयोग गर्छ । राजभण्डारी भन्छन्, ‘२० हजार मेट्रिक टनले १ महीनालाई पनि पुग्दैन ।

 

साल्ट ट्रेडिङले आफूसँग ५ हजार मेट्रिक टन चिनी मौज्दात भएकै बेला बन्दाबन्दीअघि नै चिनी किन्नका लागि अनुमति मागे पनि करीब ५ महीना ढिलो गरेर अनुमति पाएको राजभण्डारीले बताए । हाल साल्ट ट्रेडिङसँग ७ सय मेट्रिक टन चिनी मौज्दात छ ।

 

हरेक वर्ष चाडपर्वमा अभाव भई मूल्यवृद्धि हुने गरे पनि सरकारकै बेवास्ताका कारण सरकारी कम्पनीहरूलाई चिनी किन्नका लागि बेलैमा अनुमति नदिँदा चिनी खरीद प्रक्रिया प्रभावित भएको छ ।

 

सरकारले मागभन्दा कम परिमाण किन्दा ठूला व्यापारीले त्यसलाई मौकाका रूपमा लिई लुकाएर राखेको मौज्दात चिनी बजारमा ल्याई कृत्रिम अभाव सृजना गरेर बढी मूल्यमा विक्री गर्ने गरेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । कृत्रिम अभाव सृजना गर्न ठूला व्यापारी, चिनी उद्योगी र सरकारी संयन्त्रको मिलेमतो हुने गरेको उनको दाबी छ ।

 

करीब ३ साता अघिदेखि बजारमा चिनीको मूल्य निरन्तर बढिरहेको छ । त्यसबेला चिनीको खुद्रा बजार मूल्य प्रतिकिलो ८० रुपैयाँमा पाइने यतिबेला ९० रुपैयाँ पर्न थालेको छ ।

 

ठूला व्यापारी र उद्योगीहरूले स्वदेशी चिनी उद्योग एवम् साल्ट ट्रडिङसँग चिनीको मौज्दात सकिएका कारण मूल्य वृद्धि भएको बताए पनि केही खुद्रा व्यापारी र उपभोक्ता अधिकारकर्मीहरूले भने यसलाई कृत्रिम अभाव भनेका छन् ।

 

नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको माग हुने गरेको छ । कुल १३ ओटा स्वदेशी चिनी उद्योगमध्ये हाल ११ ओटा उद्योग सञ्चालनमा छन् । ती उद्योगले गत आवमा करीब १ लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन गरेका थिए ।

 

स्वदेशी चिनी उद्योगहरूले पनि आफूहरूसँग चिनी स्टक समाप्त भएको बताइसकेका छन् । नेपालको कुल चिनी मागको करीब ७० प्रतिशत स्वदेशी उद्योगहरूबाट आपूर्ति हुन्छ ।

 

बन्दाबन्दीका कारण गाउँदेखि ठूला शहरका होटेल व्यवसायदेखि मिठाई उद्योगहरूसमेत बन्द रहेको अवस्थामा चिनी उपभोग कम भएकाले अभाव नहुनु पर्ने हो ।

 

तर, यही बेलामा बजारमा चिनी अभाव देखिनु रहस्यपूर्ण भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अभियानलाई बताए । ‘माग परिमाणको आधाभन्दा पनि कम चिनी किन्न अनुमति दिनुले मूल्यवृद्धि हुनुमा सरकार नै दोषी देखिन्छ,उनले भने ।र्आिथक अभियानबाट।