कोरोना भाइरसको खोप परीक्षणमा नेपालको तयारी: छ खोप अन्तिम चरणमा

काठमाडौँ, भदौ १२। विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १–५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ । तथापि अन्तिम निक्र्योल हुन बाँकी छ ।

खोपको परीक्षण गर्न दिन हुने÷नहुने विषयमा थप अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार परिषद्ले यसको विश्लेषण गरिरहेको छ ।

मन्त्रालयका अनुसार तीन कम्पनीले नेपालमा खोप परीक्षणका लागि अनुमति मागेको हो । मन्त्रालयको स्वीकृतिलगत्तै परीक्षणको थप अध्ययन थालिएको परिषद्का सदस्यसचिव डा.प्रदीप ज्ञवालीले बताउनुभयो । चीन, रसिया र अक्सफोर्ड युभिर्सिटीले तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति मागेको र परीक्षण के कसरी गर्ने भन्ने बारेमा अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

डब्लूूएचओको सूचीमा नरहेको र बाहिर कुनै जर्नलमा समेत प्रकाशित नगरिएको रसियाले उत्पादन गरेको ‘स्पुतनिक भी’ नामको खोप नेपालमा परीक्षण गर्ने सवालमा थप अध्ययन भइरहेको ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँको दूतावासमार्फत रुस सरकारसँग खोपको विस्तृत विवरणसहितको सबै कागजपत्र मागेका छौँ, त्यो नपाएसम्म परीक्षणका लागि अनुमति दिन सकिन्न ।

त्यो विवरण आएपछि मात्र नेपालमा परीक्षण गर्ने नगर्ने भन्ने बारेमा परिषद् र सरकारले निर्णय गर्नेछ । उहाँका अनुसार भारतले पनि खोप निर्माण गरिरहेकाले उसले पनि अन्तिम परीक्षणका लागि नेपाललाई दिने कुरा गरेको छ । विश्व स्तरमा निर्माण भएका कुन कुन खोपको अन्तिम परीक्षण नेपालमा गर्न दिन योग्य छ भन्ने सवालमा शुक्रबार परिषद्ले विज्ञसहित बृहत् छलफल गर्दैछ ।

जनस्वास्थ्यलाई असर पर्ने गरी कुनै पनि खोपको परीक्षण नेपालमा नहुने दाबी उहाँले गर्नुभयो । उहाँका अनुसार चीनले सीधँै नेपाल सरकारलाई परीक्षणका लागि प्रस्ताव गरेको हो । उसले पाँच सय जनामा खोपको परीक्षण गर्न दिन मागसहितको प्रस्ताव पठाएको छ ।

 

चीनले निर्माण गरेको खोप फिलिपिन्स, इन्डोनेसिया, ब्राजिल र पाकिस्तानमा समेत अन्तिम परीक्षण अगाडि बढाएको छ । अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोपको परीक्षणमा सहभागी हुन चाहने देशको लाम पनि निकै लामो छ ।

 

यसरी अन्तिम परीक्षणमा सहभागी हुने मुलुकले भविष्यमा खोप तयार भएर आएपछि विभिन्न खालका सुविधा र सहुलियत पाउने अवस्था रहन्छ । सोही अनुसार नेपालले पनि विश्वसनीय खोपको अन्तिम परीक्षणमा सहभागी हुनेछ ।

छ खोप अन्तिम चरणमा

डब्लूूएचओका अनुसार परीक्षणको अन्तिम तथा तेस्रो चरणमा यतिबेला छवटा खोप पुगेको छ । सबै खोपको अन्तिम परीक्षणका लागि एक प्रकारले प्रतिस्पर्धा नै छ ।

 

पहिलो नम्बरमा अक्सफोर्ड युनिभर्सिटीको मातहत रहेर एस्ट्राजेनाका कम्पनीले निर्माण गरेको खोप छ । दोस्रोमा चीनको साइनोेभ्याक कम्पनीले उत्पादन गरेको खोप, तेस्रोमा चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकलको मातहत रहेर सिनोफार्मले उत्पादन गरेको खोप रहेको छ ।

त्यस्तै, चौथो नम्बरमा सिनो फार्मले बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट मातहत उत्पादन गरेको खोप, पाँचौँ नम्बरमा मोडेर्ना तथा निएडको संयुक्त उत्पादनको खोप र छैटौँ नम्बरमा बायोएनटेक तथा फोसन फर्मा र पिटजर कम्पनीले उत्पादन गरेको खोप तेस्रो तथा अन्तिम क्लिनिकल परीक्षणका क्रममा रहेको छ ।

 

यीसहित अग्रस्थानमा रहेका अन्य १६ वटा खोपले दोस्रो चरण पार गरिसकेका छन् । त्यस्तै आठवटा खोपले पहिलो चरण पार गरेको छ । योबाहेक अरू १३९ खोप प्रारम्भिक चरणको क्लिनिकल परीक्षणका क्रममा रहेको डब्लूूएचओले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ।