नेकपामा दुई ‘पूर्व’बीच ‘ग्य्राण्ड फिनाले’

– कुमार शाह

निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा छुटाउन नसकिने लायकको दृष्य हुन्छ– ‘ग्य्राड फिनाले ।’ सत्ताधारी पार्टी नेकपामा दुई ‘पूर्व’ (‘एमाले’ र ‘माओवादी केन्द्र’) बीच ठीक यही ‘ग्य्राण्ड फिनाले’ चलिरहेको छ । पहिले पहिले हुटिङका बेला जो जजसका छेउँमा बसेका थिए, उनीहरुले केही क्षण सँगै बसेको साथीको हैसियतले ताली पड्काइदिए, दुईचार पटक यसो सिट्ठी पनि मारिदिए– केही क्षणका लागि । त्यसो त नेपालीको साथी र छिमेकी सकभर मन नदुखाइ दिने चलन पनि छ क्या र !

 

 

तर अब त के गर्नु खोई ? ‘ग्य्राण्ड फिनाले’ को बेला आइसक्यो । दुई ‘पूर्व’मा बाँडिदा पृष्ठभूमि र पहिचानको प्रश्न पनि उठ्ने नै भयो । हुटिङ र सिट्ठी ‘पूर्व–पूर्व’कै बज्ने भयो । क्रमशः तानियो पूर्व–पूर्वको लहरो । पूर्वका पूर्वैतिर हिमचिम बढ्ने भयो । स्वाभाविक पनि हो, कागको पखेटामा घुसारिएका मयुरका दुईचारवटा प्वाँख खसिसकेपछि ‘समृद्धि’ र ‘समाजवाद’को बाटो एकादेशको दन्ते कथामा परिणत भयो । बाँस पनि रहेन, बाँसुरी पनि बज्नेवाला छैन, यात्रा ‘पूर्व’तिरै मोडियो ।

 

उपाध्यक्ष गौतमको ६–बुँदेले ६–सदस्यीय पार्टी एकता संयन्त्र जन्मायो । त्यसमा ७०ः३० को अनुपातमा भागबण्डा भयो । ‘पूर्व’को यो भागबण्डाले पार्टी स्थायी समितिमा नयाँ मनोविज्ञान खडा गरिदियो । यसका सूत्राधारलाई पगरी गुथाउनु पर्ने भयो । चुनाव सुनावका जनअभिमत पनि बाँसको मुनाले समय छिप्पिदै जाँदा धोती फाल्दै गएका कुरामा परिणत भए । जनताबाट तिरस्कृत र बहिस्कृतहरुका लागि राष्ट्रिय सभामा पुग्ने जस्केला विना हिच्किचावट औपचारिक वैठक बसेरै खुल्ला गरिए ।

 

दुई ‘पूर्व’को कमाल हुँदा साइज निर्धारण भयो : एउटा, दुईतिहाई र अर्को, एक चौथाई । पार्टीभित्र यो सांगठनिक आधार तयार भएपछि यही अनुपातमा मन्त्री मण्डलमा हेरफेर हुने भयो । आन्तरिक छिर्के दाउँहरु चलिराख्ने भए । दुईतिहाईको ‘पूर्व’मा गृह, अर्थ, रक्षा र परराष्ट्र तथा सूचना सञ्चारका लागि कसरत भैरहेको छ । उता एकचौथाईको ‘पूर्व’मा यी बाहेकका र एकचौथाइका हिसाबले स्थान ग्रहणका लागि दबाब परिरहेको छ ।

 

प्रम ओलीले अर्थ र सञ्चार दुवै मन्त्रालय पोल्टामुनि लुकाएपछि गौतमलाई ज्यान अनुसारको खान्कीखुराक सन्तुलन मिलाउन गृहतिर सोझ्याइदिएका छन् । ‘पूर्व’का हिसाबले आफ्नो नजिकै खस्न आएको ‘गृह’ अब आफैले बोकेका वामदेवजीका लागि सुम्पिएर वास्तविक हितैषीको परिचय दिन अध्यक्ष प्रचण्ड तयार छन् कि छैनन्, अग्निपरीक्षाको विषय बनेको छ । अर्कोतिर गौतमका लागि ‘पूर्व’को हैसियत र पार्टी एकता संयन्त्रको सांगठनिक संरचनात्मक अुपातका हिसाबले पनि गृह नलिएर जाँदा उही ‘पूर्व’मै उनको हैसियत र खैरियत नरहने निस्चित छ । सबैको हैसियतको गाँठो यही एकै ठाउँनेर परेको छ ।

 

त्यसो त पार्टी एकता संयन्त्रमा ६जनालाई पुरस्कृत गरिने प्राधिकार अध्यक्ष द्वयबीचमा सुरक्षित नै छ । साथै, अबका दिनमा यी ६जनाको भूमिका पाटनका ६ प्रधानको भूमिकासरह हुने त होइन भन्ने जायज आशंकाले पार्टीका शीर्ष तथा अन्य नेताहरुको निद हराम हुन थालिसकेको छ । पार्टी एकताका नाममा गरिएको यो सेटिङ ‘तदर्थ’ मात्र हो कि ‘कार्यकारी’ भनी जब्बर प्रश्न पनि उठिरहेको छ । तर पनि उठेका कुरा राजनीतिक होस् वा सांगठनिक, आधारहीन र नाजायज भने छैनन् ।

 

व्यक्ति विशेषको पनि स्थान विशेषका कुरा त छँदै छन्, त्यसमा पनि ‘पूर्व’को रणनीतिक ‘ग्य्राण्ड फिनाले’ आफैमा बर्मुडाको ट्रियांगल जस्तै छ । कि त्यो राक्षसी ट्रियांगलमा अझैसम्म कोही पनि पसिसकेको छैन र जो पसेको छ, त्यहाँबाट निस्कन पाएको छैन । यसको निस्कने बाटो भनेको मुट्ठीभर नेताहरुको रणनीतिक स्वार्थ निर्देशित अमेरिकी राडारहरुले मात्र सांकेतिक रुपमा इंगित गरिरहेका देखिन्छ ।

‘पूर्व’को ‘ग्य्राण्ड फिनाले’ का यी काम पार्टी महाधिवेशनसँग बढी जोडिएको र बढी सोझिएको छ । महाधिवेशनको सांगठनिक आधार तय गर्नका लागि नै पार्टी एकता संयन्त्र एक सहमतिपूर्ण ‘नमूना’को रुपमा निर्माण गरिएकोमा कुनै आश्चर्य पनि मान्नु पर्दैन र आशंका पनि पालिरहनु पर्दैन । यसले अबको एकता महाधिवेशन कस्तो हुने छ भन्ने प्रस्ट खाका देखाइसकेको छ, साथै पार्टी विचार र कार्यदिशाको प्रष्ट झलक पनि ।

 

यही आधारमा पार्टी एकताको महाधिवेशनमार्फत् विचार, कार्यदिशा र नेतृत्व तय हुने छ । स्थानीय तथा प्रादेशिक चुनाव र संघीय चुनावको रणनीतिक सोचसहित यो ‘ग्य्राण्ड फिनाले’ अघि बढेको छ । त्यहाँ पनि दुई तिहाई र एक चौथाइको अनुपातमा भागबण्डा हुने छ ।

 

यो सिंगो ‘ग्य्राण्ड फिनाले’ को रणनीतिक योजनाको पटकथा लेखन तथा निर्देशनमा एमसीसी रहेको छ । सत्तारुढ नेकपाका नेताहरु त केवल यही कथाले मागेअनुसारको भूमिकामा देखा परिरहेका छन् ।

 

यसभित्र न त चमत्कार छ, न त बहादुरी नै !बस् यो ‘ग्य्राण्ड फिनाले’ नेपाली राजनीतिक रंगमञ्चमा हुँदै छ, कुरो यत्ति हो । नेकपाका अध्यक्ष द्वयबीचको सहमति भनेको त भर्खरै गितार बजाउन सिक्दा ‘तिम्रो बाउ मेरो बाउ माछा मार्न गयो, तिम्लाई टाउको मलाई पुच्छर बराबरी भयो’ भनर गीत गाएकोजस्तो मात्र हो ।