अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना

काठमाडौं,भदौ २१ । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् ।

 

यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अवैध सम्बन्ध रहेको खुलेको छ । निर्मल र गीताबीच आर्थिक लेनदेनसमेत रहेको पाइएको छ । श्रीमान्सँग सम्बन्ध राम्रो नभएपछि गीता र निर्मलबीच हिमचिम बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।

 

केसी परिवारले गीता हराएको भन्दै गत बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले खोजीका क्रममा उनको शव शुक्रबार साँझ गोदावरी नगरपालिका–१० लेलेको जंगलमा फेला पारेको थियो ।

 

हत्या अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गीताको हत्याको कारण लेनदेनको विषयपछि उब्जिएको विवाद हुन सक्ने देखिएको छ । सो क्रममा विवाद उब्जिएपछि घाँटी थिचेर गीताको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
यस्तै, गत २५ साउन राति गोंगबुमा कृष्णबहादुर बोहोराको अवैध सम्बन्ध तथा अर्थिक लेनदेनकै कारण क्रूर तथा वीभत्स तरिकाले हत्या भएको थियो ।

 

एकातिर ज्यान, अर्कातिर टाउको र खुट्टा हुने गरी गरिएको सो वीभत्स हत्यापछि शवका टुक्रा सुटकेस र जेब्रा झोलामा हालेर फ्याँकिएको थियो ।

 

हत्यामा संलग्न व्यक्ति शव फालिएको स्थान नजिकै बस्थिन् । प्रहरीको बलियो अनुसन्धानले हत्याको दोस्रो दिनमै हत्यारा पक्राउ गर्न सफल भयो । हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनबाट पक्राउ गरेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको पुष्टि भएको थियो ।

 

महानगरीय अपराध महाशाखाका प्रमुखसमेत रहेका एसएसपी दीपक थापाले अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने उद्देश्यले तथा तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको बताए ।

‘मानिस अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने चाहन्छ, सम्बन्धका कुरा बाहिर जाने डरले हत्याका घटना भएको पाइएको छ । सामान्य विवादमा तत्कालको रिस र आवेगलाई कन्ट्रोल गर्न नसक्दा पनि हत्याका घटना भएका छन्,’ महाशाखाका प्रमुख एसएसपी थापाले राजधानीसँग भने ।

 

गत बिहीबार राति धादिङमा आवेगकै कारण ६५ वर्षीय सोमबहादुर गुरुङको क्रूरतापूर्वक हत्या भएको थियो । धादिङको निलकण्ठ नगरपालिका–१३ खलचेतका २६ वर्षीय राजु परियारले खुर्पाले घाँटी रेटी गुरुङको क्रूरतापूर्वक हत्या गरेका थिए ।

 

परियार हत्यापछि बिहीबार राति १ बजे जिल्ला प्रहरी कार्यालय धादिङमा गुरुङको टाउको झोलामा हालेर आत्मसमर्पण गर्न पुगेका थिए । उनले आफूले मान्छे मारेर आएको भन्दै ड्युटीमा रहेका प्रहरीलाई झोलाबाट टाउको निकालेर देखाइदिएका थिए ।

 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुखसमेत रहेका एसपी रवीन्द्र रेग्मीका अनुसार सामान्य विवादका कारण हत्या भएको देखिएको छ ।

 

यसैगरी, गत मंगलबार झापाको शिवसताक्षी नगरपालिकामा समेत लेनदेनकै कारण २८ वर्षीय गोमानसिंह मगरको वीभत्स तरिकाबाट हत्या भएको थियो ।

 

स्थानीय मनकुमार लिम्बुले मगरलाई बोलाएर शिवसताक्षी बजारमा भेटेपछि दुवै जना रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर गएको र सोही क्रममा लेनदेनको विषयमा विवाद हुँदा छुराले घाँटी रेटी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरू दुवै जना बहराइनबाट केही समयअघि नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

‘विदेशमा दुवै जना सँगै बसेर आएका रहेछन् । उनीहरूबीच लेनदेनको सम्बन्धका कारण छुराले घाँटी रेटेर हत्या गरेको देखियो,’ घटनाको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी अधिकारीले राजधानीसँग भने ।

 

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार प्रहरीले उनीहरूबीच फोन संवाद भएको दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा फेला पारेको थियो ।

 

प्रहरीले कागजी रूपमा हुने गरेका तमसुक तथा लेनदेनलाई नहेर्दा समेत पछिल्लो समय हत्याका घटना बढ्न थालेका छन् । प्रहरीका एक उच्च अधिकारीले प्रहरीलाई लेनदेनको विषय हेर्ने अधिकार नहुँदा समेत हत्याको घटना बढेको बताए ।

 

‘प्रहरीलाई कागजी तमसुक र लेनदेनका घटना हेर्ने अधिकार छैन, चेक बाउन्सका घटना मात्र प्रहरीले हेर्ने हुँदा लेनदेनका घटनाबाट पनि हत्या बढेको हुन सक्छ,’ ती प्रहरी अधिकारीले भने ।

 

लेनदेनको विषय अदालती प्रक्रियामा जानुपर्ने र आफूले दिएको रकम सहजै फिर्ता नहुने अवस्थापछि माानिसले आवेगमा हत्याको निर्णयसम्म गर्ने गरेको ती प्रहरी अधिकारीले जानकारी दिएका हुन् । यसैगरी, सामान्य विवादका कारण समेत परिवारभित्रकै व्यक्तिले परिवारकै व्यक्तिको हत्या गर्ने क्रमसमेत पछिल्लो समय बढेको छ ।

 

केही दिनअघि बर्दिया बाँसगढी–९ घर भएका ३६ वर्षीय अजय विकले राजधानीको अनामनगरमा आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।

 

विकले सामान्य घरायसी विवादमा ३३ वर्षीया श्रीमती पार्वती खड्कालाई छुरा प्रहार गरेका थिए । उनको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको हो । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको टोलीले विकलाई सोमबार बेलुकी पक्राउ गरेको हो ।

 

यसैगरी, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चाका ४२ वर्षीय सुदर्शन अधिकारीले गत बुधबार आफ्नै बुहारी ३७ वर्षीया रञ्जना तिमल्सिनालाई सामान्य घरायसी विवादका कारण बन्चरोले हानेर हत्या गरे ।

 

काभ्रेका एसपी रविराज पौडेलका अनुसार अधिकारीले टाउको र घाँटीमा बन्चरो प्रहार गरी बुहारीको हत्या गरेका हुन् । अनुसन्धानमा घरायसी विवादका कारण सुदर्शनले बुहारीलाई बन्चरो प्रहार गरेको खुलेको एसपी पौडेलले जनाएका छन् ।राजधानी दैनिकमा खबर छ।