उपत्यकाका सिडिओको सुझाव : नाकामा सेना परिचालन गरौं ,दसैंसम्म निषेधाज्ञा

काठमाडौं, भदौ २१ । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् ।

 

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए। उनले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए।

 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन् ।

 

अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरु आवतजावत भइराखेकाले त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताए ।

 

 
काठमाडाैका सीमा नाकामा कस्तो हुँदैछ भने चाहेर पनि नचाहेर पनि प्रत्येक दिन २ हजार मान्छे भित्र्याउनै पर्छ । यदि २ हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने भनेको यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ आयातित उपभोग भएकाेले चाहेर पनि ठप्प गर्न नसकिएकाे दाहालले बताए।

 

त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ । अनावस्यक मान्छे हिँडडुल गर्ने कुराका लागि सिमामा कडाई गर्नुपर्ने हुन्छ । सिमामा कडाई गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनु पर्छ।

 

नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँन के फरक पर्छर भनेर डीडीएमसीबाट निर्णय गरेर माथि पठाइयो तर सीसीएमसीमा त्यो कुराको त्यति सुनुवाई नभएको हो कि भनेर उनले बताए ।

 

दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याई भएकाले सीमा नाकाको निगरानी अलिकमजोर भएको उनले बताए।

 

भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको उनले बताइन् ।

 

  “हामीलाई कस्तो दबाब आउँछ बुझ्नुपर्ने, निर्णायक तहमा बस्नुभएको जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाका भन्दा उता गाडी ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृति पनि देखिन्छ ।

योजनावद्ध रुपमा मानिसहरुलाई उपत्यकाभित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उनले बताइन् ।

 

मान्छेलाई आउनै दिन्न भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्धमा काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

 

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैँसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए ।

 

चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाइ निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

 

 

अब हाम्रो अगाडि चाडवाडहरु आइरहेका छन् । दशैंजस्तो ठुलो चाड आएको छ । मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ । त्यो अहिले हामीले बेहोरिरहेका छौं । जात्रा, संस्कृति र पर्वहरु भनेपछि बरु ज्यानफाल्न पनि तयार हुँदो रहेछ । दशैंमा पनि त्यस्तो हुन सक्छ ।

 

त्यसो भएको हुनाले दशैं सम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाएपनि यो स्थिति कायम राख्नु पर्ने उनले बातए।

 

 त्यसलाई पनि विचार गरेर यो दशैंसम्म अझै सहजिकरण गर्ने तर यसलाई त्यो बेला सम्म निरन्तरता दिनुपर्छ जस्तो लाग्छ ।

 

नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागु भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको भनाइ रहेकाे छ।

 

बिहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजेदेखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने उनले बताएका छन्।