मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

काठमाडौं,भदौ २४ । मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको हो ।

 

खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो ।

 

अगामी दशैंसम्ममा उपत्यकावासीको घरघरमा पानी पु¥याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ । गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो ।

 

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको बताइएको छ ।

 

सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनियर शेखर खनाल घाइते हुनुभएको थियो । दुर्घटनाका कारण इञ्जिनियर सतीश गोहितको मृत्यु भएको थियो ।

 

सवारीचालक राधाकृष्ण थापामगर अझैसम्म बेपत्ता हुनुुहुन्छ । सुरुङ परीक्षणका लागि पानी भर्न झण्डै १५ दिन लाग्नेमा एक सातामा पानी बाहिर निस्केको हो । गत असार २१ मा पानी पथान्तरण गरिएकोमा ३० असारमा दुर्घटना भएको थियो ।हिमालय टाइम्सबाट,