यातायात व्यवसायीले यात्रु बोक्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा

काठमाडौं,भदौ २४ । होल्डिङ सेन्टरमा रहेका यात्रु बोक्ने काम एकलौटी ढंगले भइरहेको भन्दै यातायात व्यवसायीहरू आन्दोलित भएका छन् ।

 

विदेशबाट उद्धार गरेर ल्याइएका यात्रुहरूलाई देशभर सम्बन्धित ठाउँमा पु(याउने काम एउटा मात्र यातायातले पाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।

 

व्यवसायीका नेताहरूले मिलेमतोमा एउटा समितिलाई मात्र यात्रु बोक्न दिएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा मंगलबार उनीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका हुन् ।

 

यातायात व्यवसायीहरूले विदेशबाट आउनेहरूलाई जिल्लासम्म पु¥याउन सार्वजनिक सवारीसाधनको प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् ।

 

उनीहरूले विदेशबाट आएका नेपालीलाई होल्डिङ सेन्टरबाट जिल्लासम्म पु¥याउन सस्तो भाडा दर प्रस्ताव गरे पनि बेवास्ता गरिएको आरोपसमेत लगाएका छन् ।

 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई बेवास्ता गर्दै व्यवसायीहरू बबरमहलस्थित विभागको कार्यालयअगाडि धर्नामा बसेका हुन् ।

 

महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले देशभर सञ्चालनमा रहेका सबै कम्पनीहरूसँग समन्वय गरी सबै प्रदेशका सवारीसाधनहरू सम्बन्धित प्रदेशमा जाने व्यवस्था गर्न माग गरिएको तर सिसिएमसीबाट बेवास्ता गरिएकाले धर्ना बस्न बाध्य भएको बताउनुभयो ।

 

उहाँले होल्डिङ सेन्टरमा रहेका मानिसहरूलाई महँगो भाडादरमा यातायात व्यवसायी बाहेकका सवारी साधनमार्फत गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

 

सार्वजनिक यातायात व्यवसायीका सवारीसाधन प्रयोग गरेमा अहिलेको भाडादरभन्दा निकै कम दरमा गन्तव्यमा पुग्न सक्ने भए पनि सिसिएमसीले माफियाहरूको प्रभावमा यात्रुहरूलाई महँगो भाडादर तिर्न बाध्य पारेको रिजालले बताउनुभयो ।

 

व्यवसायीहरूले सम्बन्धित प्रदेशका सवारीहरू सम्ब्न्धित प्रदेशमै पठाउँदा आलोपालो निर्धारण गरेर सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेका छन् ।

 

कार्य क्षेत्रमा अनुचित ढंगले संकलन गरिएको व्यवस्थापकीय बाहेकका आर्थिक क्रियाकलाप बन्द गर्नसमेत उनीहरूले माग गरेका छन् ।

 

सार्वजनिक यातायातको प्रयोग भएमा यात्रु भाडा दरका हकमा महासंघले सिसिएमसीमा प्रस्ताव गरे बमोजिमको दरमा सिट उपलब्ध गराउने पनि व्यवसायीहरूले बताए ।

 

सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र यातायात व्यवस्था विभागले सीमित व्यक्तिलाई यात्रु बोक्ने जिम्मेवारी दिँदा अधिकांश व्यवसायी मारमा परेको महासंघका महासचिव भरत नेपालको गुनासो छ ।

 

सरकारले होल्डिङ सेन्टरबाट यात्रु बोक्ने जिम्मा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई दिएकोमा सिटौलाले सप्तकोसी यातायात प्रालिलाई मात्र जिम्मा दिएको नेपालले बताउनुभयो ।

 

उहाँले कमिसनमा एउटै प्रालिलाई देशभर यात्रु बोक्ने जिम्मा दिएको र यात्रुबाट बढी भाडा लिएर ठग्ने काम भएकाले आफूहरू आन्दोलनमा उत्रेको जानकारी दिनुभयो ।

 

व्यवसायीहरूले ‘कमिशन तन्त्र खारेज गर’, ‘होल्डिङ सेन्टरमा यातायात व्यवस्थापकबाट यात्रु ठगी रकमको छानविन गर’, ‘पीडित तथा बेखर्ची यात्रुलाई निःशुल्क गन्तव्य पु¥याउने व्यवस्था गर’, ‘यातायात व्यवसायीलाई ब्याज छुटको व्यवस्था गर’ लेखिएका ब्यानरसहित धर्नामा बसेका थिए । हिमालय टाइम्सबाट,