सरकारले सार्वजनिक यातायात संचालन गर्न सहजीकरण नगरे: असोज १ देखि सबै सवारी चलाउने व्यवसायीको घोषणा

 काठमाडौं, भदौ २४। यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्।

 

 यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका सबै यातायात चलाउने घोषणा गरेका छन्।

 

सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको व्यवसायीहरुले बताएका छन्। ‘यतिञ्जेल हामीले जसोतसो धान्यौं, अब सिटामोल खान सक्ने अवस्था पनि छैन।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने बताए। कोरोना संक्रमण कम भएका ठाउँमा यातायात चलाउन सकिने सुझाव आफूहरुले दिएको उनले बताए। यातायात सञ्चालन गर्दा सुरक्षाका सम्पूर्ण उपाय अवलम्वन गर्ने यातायात व्यसायीले बताएका छन्।

 

‘कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर हामीले सार्वजनिक सवारीसाधन संचालन गर्नेछौं’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बाएका छन्।

 

 आफूहरुले सुरक्षाका लागि अपनाउने मापदण्डको प्रोटोकल समेत तयार गरेर विभागमा बुझाएको व्यवसायीहरुले बताएका छन्।

गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। साढे ५ महिनासम्म लामो दूरीका सवारीसाधन चल्न नसक्दा आफूहरु डिप्रेसनको स्थितिमा पुगेको व्यवसायीहरुले बताएका छन्।