संवादहीनता तोडिएसँगै भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

काठमाडौं,भदौ २५ । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ ।

 

लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएसँगै संवादहीनता तोडिएको थियो ।

 

सीमाको विषयलाई लिएर झन्डै ८ महिना दुई देशबीच संवाद नै नभएको अवस्था थियो । गत वर्ष १६ कात्तिकमा कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै विवाद बढेको थियो ।

 

त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि सम्बन्ध तनावपूर्ण बन्न पुगेको थियो ।

 

दशैंअघि नै भारतले नेपालमा मन्त्रिस्तरीय भ्रमण गर्ने तयारी गरिरहेको बुझिएको छ

 

नेपालको विरोध जारी नै रहेको बेलामा फेरि गत वैशाखमा भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको थियो ।

 

सोही सिलसिलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले आफ्नो निसान छाप परिवर्तन गर्न संविधान नै संशोधन गरिसकेको छ ।

 

नेपालले नक्सा जारी गरेपछि भारतले आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक नोट पठायो । त्यसयता नेपाल र भारतबीच संवादहीनताको अवस्था थियो ।

 

दुई देशबीच सीमा विवादको कुरा उठेपछि परराष्ट्र मन्त्रालयले भारतलाई चार पटकसम्म पत्र लेखेर वार्ता र संवादका लागि आग्रह गरेको थियो ।

तर, भारतले संवादका लागि नेपालले पठाएको पत्रको प्रतिउत्तर दिएको थिएन । नेपालको पत्रको जवाफ भारतले दुई महिनापछि मात्रै दिए पनि असन्तुष्टि जनाएको थियो ।

 

संवादहीनता तोडिएसँगै ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिजम्’ ९संयुक्त निगरानी संयन्त्र० बैठक बस्यो । बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको थियो ।

परियोजनाको काम सन्तोषजनक रहेको र थप सहकार्य गरेर अघि बढ्ने बढाउँदै जाने विषयमा पारस्परिक संवाद भएको थियो ।

 

परियोजनाको संवादपछि नेपालका लागि भारतीय राजदूत विनय कुमार क्वत्रा स्थलमार्ग भएर भारत गएका थिए । विनयकुमार क्वात्रा भारत जानुअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राजनीतिक दलका नेताहरूसँग भेटेका थिए ।

 

नेपालसँग सम्बन्ध सुधारका लागि क्वात्राले दिल्लीमा त्यहाँका उच्च तहका अधिकारीसँग भेट गरेर फर्किएको अनुमान छ । एक साताभन्दा लामो बसाइपछि क्वात्रा नेपाल फर्किएर हाल आइसोलेसनमा बसेका छन् ।

 

आइसोलेसनबाट निस्किएपछि उनले उच्चस्तरीय भेटघाटलाई तीव्रता दिने तयारीमा रहेको भारतीय दूतावास स्रोतले जनायो ।

 

सम्बन्ध सुधारकै लागि पछिल्लो समय भारतले अग्रसरता देखाएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । दशैंअघि नै भारतले नेपालमा मन्त्रिस्तरीय भ्रमण गर्ने तयारी गरिरहेको बुझिएको छ ।

असोजभित्र नेपाल भ्रमण हुन नसके दुई देशका परराष्ट्रमन्त्रीबीच भर्चुअल मिटिङ गर्न सक्ने विकल्प पनि रहेको छ । विदेश सचिवस्तरीय बैठक भने तत्काल गर्ने कि एक महिनापछि गर्ने भन्ने विषयमा भने अन्योल रहेको बुझिएको छ ।

 

परराष्ट्र सचिव शंकरदास वैरागीको आगामी असोज २५ गतेबाट पदावधि सकिने भएकाले त्यसभन्दा पहिल्यै बैठक राख्ने पक्षमा नेपाल छ ।राजधानी दैनिकमा खबर छ।