बिदेशिनेको व्यथा : सरकारले सुनेन निमुखाको गुहार

काठमाडौं, भदौ २५। रामेछापका सूर्य माझीले साउदी अरेबियाको रियादमा रोजगारी गुमाएको दुई महिना पुगेको छ। कोरोना महामारीपछि काम गरिरहेको वेल्डिङ कम्पनीले उत्पादन रोकेपछि उनी बेरोजगार भएका हुन्।

 

बजारमा माग नभएको कारण देखाउँदै कम्पनीले काम बन्द गर्दा यतिखेर माझीलाई बस्न र खानाको समस्या हुन थालेको छ। उनलाई कम्पनीले बस्दै आएको कोठा छिटो छाड्न भनिरहेको छ।

 

‘कम्पनीले काम रोकेलगत्तै घर फर्कन खोजिरहेको छु,’ उनले नागरिकसँग भने, ‘दुई महिनादेखि घर फर्कन हवाई टिकटको खोजीमा राजदूतावासदेखि ट्राभल एजेन्सीसम्म चहारिसकें तर उपलब्धि शून्यजत्तिकै छ।

 

लामो समयदेखि घर फर्कन नपाउँदा एकातिर बेखर्ची भइरहेको र अर्कोतर्फ बस्दै आएको कोठाबाट जुनसुकै बेला निकालिने जोखिम बढेको उनको भनाइ छ। अहिलेसम्म पुरानो कमाइबाट जसोतसो गुजारा चलेको बताउने माझीले अब भने टिक्ने अवस्था नरहेको गुनासो गरे।

 

साउदीकै रियादमा रहेका रौटहटका रिहान मन्सुरले पनि हवाई टिकट खोजी गर्न थालेको एक महिनाभन्दा बढी भइसकेको छ।

 

उनले साथीभाइ र चिनेजानेकासँग सोधीखोजी गर्दा पनि टिकट फेला पार्न नसकेको बताए। कोरोना महामारीका कारण अघिल्लो महिनादेखि रोजगारी गुमेको उनको भनाइ छ।

 

‘मासिक एक हजार दुई सय रियाल ९करिब ४० हजार रुपैयाँ० पारिश्रमिक पाउने रोजगारी गुमेपछि कतिखेर घर फर्कौं भइरहेको छ,’ उनले भने, ‘तर टिकट पाउन सकिएको छैन।’ मन्सुरले टिकट नपाउँदा कमाएको रकम साउदीमै सकिने गुनासो गरे।

 

मलेसियामा रहेका पाँचथरका प्रणय लिम्बुले उद्धारका लागि सरकारी निकायलाई आग्रह गरेको दुई साता भइसक्यो। रोजगारी गुमाएपछि बेर्खर्ची भएका उनले तत्काल उद्धार गर्न त्यहाँस्थित नेपाली राजदूतावास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र परराष्ट्र मन्त्रालयका अधिकारीलाई दैनिकजसो आग्रह गरिरहेका छन्। जति आग्रह गर्दा पनि कुन दिन फर्कन पाइन्छ भन्ने टुंगो नभएको उनको भनाइ छ।

 

दुबईमा रहेका पर्साका अरबिन्द साह पनि घर फर्कन नपाउँदा छटपटीमा छन्। एक महिनादेखि कामबिना बसिरहेको बताउने साहले चाँडो उद्धार नगरिए भोकभोकै मर्ने अवस्था आउने बताए। रेस्टुरेन्टमा काम गर्ने साहले रोजगारी गुमाएपछि बेखर्ची भएको बताए।

 

सरकारले कोटा तोकेपछि यति खेर हजारौं नेपाली विदेशमा अलपत्र परेका छन्। उनीहरुले दिनहुँजसो हारगुहार गरिरहेका छन् तर सरकारमा रहेकालाई सुन्ने फुर्सद छैन।

 

विदेशमा रोजगारी गुमाएपछि घर फर्कन चाहेर पनि नपाएर छटपटिँदै बसेका यी केही दृष्टान्त हुन्। सरकारले विदेशबाट आफ्ना नागरिक फर्काउन कोटा तोकेपछि हजारौं नेपाली विदेशमा अलपत्र परेका छन्।

 

उनीहरुले दिनहुँजसो हारगुहार गरिरहेका छन् तर सरकारमा रहेकालाई सुन्ने फुर्सद छैन। सरकारले विदेशबाट दैनिक आठ सयभन्दा बढी नेपाली फर्कन नपाउने नियम बनाएको छ।

 

जब कि अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुनुअघि दैनिक एक हजार पाँच सय नेपाली वैदेशिक रोजगारबाट घर फर्कने गरेको सरकारी तथ्यांक छ। फागुन अन्त्यपछि सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ।

 

यसैबेला कोरोनाका कारण ठूलो संख्यामा नेपालीले गन्तव्य मुलुकमा रोजगारी गुमाएका छन्। विदेशमा कति नेपालीले रोजगारी गुमाएर घर फर्कदैछन् भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन।

 

गैरआवासीय नेपाली संघलगायतका निकायले रोजगारी गुमाएर विभिन्न मुलुकबाट करिब १० लाख नेपाली घर फर्कनसक्ने अनुमान गरेका छन्। नियमित अन्तर्राष्ट्रिय उडानपछि चार्टरमार्फत करिब ६० हजार घर फर्किएका छन्।

 

रोजगारी गुमाएका मात्र नभई नियमित प्रक्रियाअन्तर्गत घर आउने बिदा र श्रम सम्झौता सकिएकाको संख्या पनि दुई लाख नाघिसकेको छ।

 

श्रम सम्झौता सकिएर पनि घर फर्कन नपाउँदा कैयन श्रमिक अवैध बन्न बाध्य छन्। यस्तो अवस्थामा उनीहरुलाई सम्बन्धित मुलुकले जरिवाना तिराउने गर्छ।

 

अधिकांश गन्तव्य मुलुकका सरकारले पर्याप्त हवाई उडान सञ्चालन गर्न नसक्नुलाई नेपालको आन्तरिक समस्याको रूपमा बुझेकाले उनीहरु श्रमिकप्रति लचिलो हुने सम्भावना नरहेको सम्बद्ध व्यक्ति बताउँछन्।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले अहिलेसम्म घर फर्किएकामध्ये ४३ हजार रोजगारीका लागि विदेश गएका रहेको बताए।

 

विदेशमा समस्यामा परेकालाई कसरी उद्धार गर्ने भन्ने बारेमा मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरिरहेको उनको भनाइ छ।

 

घर फर्कन नपाएपछि श्रमिकले गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतावासमा पुगेर विरोध प्रदर्शनसमेत गर्न थालेका छन्।

 

मंगलबार साउदीको राजधानी रियादमा रहेको नेपाली राजदूतासमा घर फर्कन नपाएका श्रमिकले सरकारविरुद्ध विरोध प्रदर्शन गरे।

 

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले समस्या समाधानको एकमात्र उपाय हवाई उडान संख्या वृद्धि गर्नुपर्ने बताए।

 

‘साउदीको रियाद र दमामबाट दैनिक पाँचपाँच हवाई उडान राख्न सके समस्या न्यूनीकरण हुन सक्छ,’ उनले भने, ‘अहिलेको हवाई उडान कार्यतालिका वृद्धि नगर्ने हो भने समस्या कायमै रहन्छ।

 

रोजगारी गुमाएका जोसुकै व्यक्ति घर फर्कन खोज्नु जायज भएको उल्लेख गर्दै उनले काठमाडौंले साउदीलाई अन्य गन्तव्य मुलुकजस्तो नठान्न आग्रह गरे।

 

अन्य गन्तव्य मुलुकका हवाई कम्पनीले काठमाडौंसम्म उडान गर्ने गरे पनि साउदीका हवाई कम्पनीले काठमाडौंसम्मको सीधा उडान राखेका छैनन्।

 

राजपुतले साउदीबाट घर फर्कन अहिलेसम्म २५ हजारले नाम दर्ता गराइसकेको जानकारी दिए। ‘दूतावासमा नाम दर्ता गराएकामध्ये आठ हजार पाँच सय मात्र घर फर्कन पाएका छन्,’ उनले भने, ‘लामो समयसम्म पनि घर फर्कन नपाएपछि विरोध हुने नै भयो।’

 

कोरोनाले रोजगारीका लागि साउदी पुगेका ५२ नेपालीको निधन र चार हजार एक सय ६ जना संक्रमित भएकाले त्रास बढेको उनको भनाइ छ।

 

विदेशमा समस्यामा परेकालाई घर फर्काउन नियमित मात्र नभई उडान थप गर्नुपर्ने बेला उल्टै सरकारले कोटा तोकेपछि कैयन श्रमिकले समस्या परेको बेला व्यापार गर्न खोजेको अर्थ लगाएका छन्।

 

सरकारले यतिखेर नियमितभन्दा दोब्बर बढी भाडा तोकेको छ। सर्वोच्च अदालतले असार १ मा विदेशमा बेखर्ची भएकालाई निःशुल्क उद्धार गर्न आदेश दिएको थियो।

 

तर सरकारले त्यो आदेशलाई पनि अटेरी गरिरहेको छ। सर्वोच्चले वैदेशिक रोजगार बोर्डअन्तर्गतको कल्याणकारी कोषमा रहेको रकम खर्च गरेर समस्यामा परेकालाई निःशुल्क उद्धार गर्न आदेश दिएको थियो।

 

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर करिब ५० लाख वैदेशिक रोजगारीमा गएका छन्। श्रम स्वीकृति लिएकामध्ये २०–२५ लाख गन्तव्य मुलुकमै रहेको अनुमान छ। तीमध्ये करिब ९०–९५ प्रतिशत खाडी मुलुक र मलेसियामा छन्।

मलेसियाबाट २० हजार घर फर्कन आतुर

यसैबीच गैरआवासीय संघ मलेसयाका अध्यक्ष हरि भट्टराईले कोरोनापछि रोजगारी गुमाएका करिब २० हजार नेपाली घर फर्कनुपर्ने अवस्थामा रहेको बताएका छन्।

 

बुधबार आयोजित एक भर्चुअल कार्यक्रममा उनले मलेसियामा कोरोना नियन्त्रणमा आउने क्रममा रहे पनि रोजगारदातालाई पहिलेकै अवस्थामा पुग्न केही समय लाग्ने भएकाले नेपाली रोजगारी गुमाएर घर फर्कन थालेको बताए।

 

रोजगारी गुमाएका तत्काल घर फर्कन नपाए थप समस्या हुने उनको भनाइ छ। उनले लकडाउनअघि टिकट काटेका करिब दुई हजार नेपाली हवाई उडान बन्द हुँदा घर फर्कन नपाएको बताए।

 

कतार शाखाका वरिष्ठ उपाध्यक्ष उत्तम गुरुङले पर्याप्त हवाई उडान नहुँदा श्रमिकलाई बस्न र खानाको समस्या भइरहेको बताए। उनले कतारबाट १० हजार नेपाली तुरुन्त फर्किनुपर्ने अवस्थामा रहेको जानकारी दिए।नागरिग दैनिकमा खबर छ।