‘ओली संज्ञान’ र अतर्क बुद्धिवाद ?

दुईतिहाई बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओली र उनको समूहको संज्ञानात्मक प्रक्रिया अतर्क बुद्धिवादमा आधारित छ । यो सहजवृत्तिमा आधारित हुन्छ र यसमा विचार तथा नैतिकताको कसी वा बन्धन लागु हुँदैन । यसमा बुद्धि, विवेक र तर्कको स्थान हुँदैन । यस्ताखाले अतर्क बुद्धिवादमा सापेक्ष सच्चाइसमेत पाइँदैन ।

अतर्क बुद्धिवादले प्रकृति र मानव समाजको नियम, रुपान्तरणको नियम तथा वस्तुगत नियम मान्दैन । यसको मूल रुझान भनेको उपयोगितावाद हो । वस्तु पदार्थ, विचार वा व्याख्या स्वेच्छाचारितापूर्वक अराजक किसिमले गर्दछ । विवेकको धज्जी उडाउनु र भ्रम सिर्जना गर्नु तथा भएको दिमाग पनि भुटिदिनु यसको सहज उद्देश्य हुन्छ ।

 

यो विशिष्ट, आशक्तिपूर्ण र मुट्ठीभर संभ्रान्त वर्गको जीवन र जगतलाई हेर्ने एक महत्वपूर्ण मानसिक प्रक्रिया हो । यो बढी सत्ता र स्वार्थमुखी हुनुका कारण आम तथा जनमुखी हुँदैन । वीरपूजा, महामानवीकरण, प्राधिकार र हुकुममा यसको स्वत्व निहित हुन्छ । यो बढी नै यथास्थितिमय, अतितमुखी वा पश्चगामी पनि हुन्छ ।

विचार निर्माणमा सक्रिय सिंगो संज्ञानात्मक प्रक्रिया– दृष्टि, ध्यान, स्मरण, संश्लेषण र निर्णयपछि अभिव्यक्तिका लागि प्रयोग गरिने माध्यम अर्थात् भाषाको चयन र निपूर्णता आदिमा यो प्रवृत्तिको बालरोगीपन पाइन्छ । सरल भाषामा भन्नुपर्दा यसमा ‘जानकारी लिएर’ सिधै वा जस्ताको तस्तै ‘अवधारणा’ का रुपमा प्रस्तुत गरिएको हुुन्छ ।

कार्ल माक्र्सको भाषामा अवधारणा भनेको ‘संसार’ वा कुरोलाई बुझ्नु र अभिव्यक्ति तथा प्रक्रियाका हिसाबले ‘बदल्नु’ हो । तर अतर्क बुद्धिवादका आधारमा निर्माण हुने संज्ञानले कुनै कुरालाई गतिका आधारमा बदल्ने होइन, बरु प्रवाहलाई रोक्ने र थिचोर्ने र भ्रष्टीकरण गरेर यथास्थिति र पश्चगमनको श्रेष्ठता कायम गर्न टुपीदेखि पैतलासम्मको बल लगाउँछ ।

मानिसले जुन तरिकाले सोंच्छ, गम्छ र विचार गर्छ तदनुरुपको अभिव्यक्ति व्यवहारमा देखाउँछ । यो आफैमा पाप वा श्रापको प्रतिफल भने होइन, बरु सारा जीवन र जगतलाई हेर्ने, ग्रहण गर्ने, बुझ्ने र त्यसलाई अभिव्यक्त गर्ने उसको एक सिंगो संज्ञानात्मक (कग्निटिभ) प्रक्रियामा भर पर्छ । यो एक प्रवृत्ति, धारा र मत पनि हो । यथास्थिति र परिवर्तनको बीचमा संग्राम चलिरहेका बेला अथवा तानेर पछाडि खिच्ने वा लतारेर अगाडि बढ्ने ‘टग अफ वार’ का बेला यो प्रवृत्ति तात्कालीक, क्षणिक तर अनुकुल वातावरणका कारण बेलाबखत व्यवहारमा अभिव्यक्त हुन आउँछ ।

यसले पुराना उखानटुक्का र मुहावराको सहयोग लिने (भैंसी किने जुम्राको के हिसाब, घरबेटीले डेरावाललाई चाबी बुझाउने), किम्बदन्तीलाई आदर्श बनाउने (जस्तै रामराज्यको खोजी गर्ने), अग्रगमनको चलाकीपूर्ण वेवास्ता गर्ने (जस्तै समाजवाद निर्माणको चर्चा नै ओझेलमा पारिदिने), अग्रगमनका खुट्टा ताछ्न पश्चगामी शाब्दिक र भाषिक वाण प्रयोग गर्ने (जस्तै बयल गाडा चढेर अमेरिका पुग्ने), वर्तमानलाई अस्वीकार गर्ने (जस्तै युवालाई पार्टीमा लागेको कतिभयो भनी सोधेर ‘ए अझैं १० वर्ष बाँकी रहेछ, म जेल बसेकै जत्ति त पुगेको रहेनछ’ भनी उडाइदिने), सतही ज्ञानमा रमाउने (बेसारपानी खाऊ, हाँछ्युसाछ्युँ गरेर कोरोना भगाऊ) जस्ता सहज प्रवृत्तिगत अभिव्यक्तिका छनक उजागर गरिदिन्छ ।

 

यसले ज्ञान, क्षमता र भविष्यको कुनै लेखो राख्दैन । जुनसुकै होस् विगत स्वर्णिम थियो भन्ने यसको आदर्श हुन्छ । ‘बाउभन्दा छोरा जान्ने, गैरी तालमा माछा मार्ने ?  ‘तेरो बाउले मेरो आङमा मुतिदिन्थ्यो,’ अर्थात् तेरो बाउलाई समेत सानो बच्चामा खेलाएको मानिस हुँ म भन्ने जस्ता अतितमुखी आडम्बरको सहारा लिन्छ यसले ।

अतर्क बुद्धिवादी प्रवृत्तिले वर्तमानलाई यथास्थितिमा लट्काइ राख्न चाहन्छ । यसका लागि उसले प्राचीन र पश्चगामी कुतर्कलाई निकै मिठास र मिजासका साथ ‘रामवाण’का रुपमा प्रस्तुत गर्छ, जहाँ पुराण कथावाचनका तर्क न तुकका तर निकै उत्तेजनात्मक र रंगिला कुराले वरपर बसेकालाई लट्ठ र मक्ख पारिराखेको हुन्छ ।

अतर्क बुद्धिवादी सोच र अभिव्यक्तिको आशय नै हर तरहले विवेक र अग्रगमनलाई बन्दी बनाउनु र अतर्क र भावना प्रवल बनाएर छाडिदिनु हो । यसले विवेक बञ्चित झुण्ड वा हनुमान तयार पार्न मद्दत गर्दछ । यसमा नश्लीयता पनि लुकेको हुन्छ, जसलाई लिएर हालैका दिनमा ओली सरकारबारे गम्भीर टिप्पणीहरु पनि भैरहेका छन् ।

अतर्कबुद्धिवादी सोच र अभिव्यक्तिमा तर्क र संगति दुवै हुँदैन । अचेतन तथा पश्चगामी संकल्पले यसलाई दैनन्दिन उकेरा लगाइरहेको हुन्छ । गाउँघरमा यसलाई ‘सोमत नभएको’ भन्ने गरिन्छ । यो प्रवृत्तिलाई निराशा, थकान, असीम दबाब, पूर्वाग्रह, अतर्क, खण्डित विचार, बदलाभाव, मिथ्या श्रेष्ठता कायमको लालसा तथा आत्मप्रशंसाको भोकले निरन्तर पछ्याइरहेको हुन्छ ।

 

यसका कारण दुनियाँले दुःख त पाउँछन् नै, तर यो धार वा प्रवृत्तिका अनुयायीलाई क्षणभर शान्ति र चैनको स्वास लिने अवसरसम्म मिलेको हुँदैन । यो चिन्तनधारा वा प्रवृत्ति परपीडक जति छ, त्योभन्दा सैयौं गुणा आत्मपीडक पनि हुन्छ । संज्ञानात्मक दुरीका हिसाबले यो आत्महत्या गर्ने धारणाको नजिक हुन्छ ।

समाज रुपान्तरणको गति रोक्न उभिने भनेको कम मूर्खतापूर्ण कुकर्म होइन । पश्चगामी र खण्डित विचार यसको वैचारिक स्रोत हुने भएकाले यरेसियन र टिबेटियन दुई भौगर्भिक प्लेट एकापसमा निर्ममताका साथ घच्चापच्ची गरिरहँदा जसरी यो क्षेत्रमा सानाठूला भूकम्पीय धक्का महसुस भैरहन्छन्, त्यसै गरी मनमथिंगलभित्र निरन्तर चलिरहेको संज्ञानात्मक प्रक्रिया वा घच्चापच्चीले यो प्रवृत्तिधारकको सोचमा खण्डित र अराजक अनुभूति तथा अभिव्यक्तिको बग्रेल्ती उत्पादन भैरहन्छ।

सत्ता प्रवृत्तिका हिसाबले अतर्क बुद्धिवादले आत्मसमीक्षा गर्नुभन्दा पनि अटेरी, निरंकुश, नियन्त्रणकारी र फासीवादी बनाउँदै लगिरहेको हुन्छ । किनकि उसभित्र मानसिक रुपमा उत्पन्न विसंगति र उसैका कारण समाजमा उत्पन्न अराजकता केबल बल प्रयोगका कारणमात्र नियन्त्रण संभव छ भन्ने बाध्यात्मक निष्कर्षमा अतर्क बुद्धिवाद पुग्ने गर्दछ ।

पुँजीपति वर्गको मात्र पछिल्लो उदाहरण लियौं भने पनि उन्नाइसौं शताब्दीको सुरुआतसँगै औद्योगिक पुँजीवादले राज गरिरहन संभव छ वा यो विश्व साम्राज्यवादमा परिणत हुन अवश्यंभावी छ भनी दुई पक्ष लामो समय भिडिरहे । यसलाई समाजवादी नेता लेनिनले ‘साम्राज्यवाद : पुँजीवादको एक मरनासन्न अवस्था’ भनी संश्लेषण गरिदिएपछि औद्योगिक पुँजीवादी आफू यथास्थितिको सिकार भएको महसुस गरे, जो अतर्क वुद्धिवादमा आधारित थियो ।

तर नेपालमा हाल सत्तामा रहेका ‘कम्युनिष्ट’ यी पुँजीवादी जत्तिको आत्मसमीक्षाको हैसियतमा पनि छैनन् । सत्तामा विराजमान अतर्क वुद्धिवादी समूह आफ्ना यस्ता असंगतिपूर्ण हर्कत प्रदर्शन गर्न रमाइरहेका देखिन्छन् । पछिल्लो चरणमा प्रम ओलीका प्रेस सल्लाहकारले बाबुराम भट्टराईलाई ‘ओली जेलमा छँदा बाबुराम भट्टराईले फन्डिङमा पीएचडी गर्दै थिए’ भनी दिएको जवाफ अतर्क बुद्धिवादको एउटा राम्रो उदाहरण हो ।

 

यो भनाइले हालका प्रम ओली वा पूर्वप्रम भट्टराईमध्ये को योग्य थिए भन्ने होइन कि को पुरानो थियो भनी ‘ओल्ड इज गोल्ड’ को यथास्थितिवादी र पश्चगमनकारी श्रेष्ठतालाई अतार्किक तर बलपूर्वक स्थापना गर्न जोड गर्दछ । तर्कका हिसाबले यसले अहिलेभन्दा पञ्चायतकाल, त्योभन्दा राणाकाल, त्योभन्दा मल्ल–लिच्छवीहुँदै महाभारतको कृष्णकाल र त्योभन्दा पनि रामायणकाल स्वर्णिम थियो भन्नेमा पुर्याउँछ ।

क्रान्तिकारी माक्र्सवादीले क्षितिजीय रुपमा जनवादी केन्द्रीयताको प्रयोग गरी उच्चतम जनवादी तरिका अपनाएर अतर्क बुद्धिवादको आधार व्यवहारतः अन्त्य गरिदिन्छन् । साथै, उध्र्वतर रुपमा सामूहिक विचार र नेतृत्वका आधारमा विचार, तर्क र संश्लेषणलाई अघि बढाउँछन् ।

 

व्यवस्थाका हिसाबले हुकुम प्रमाङ्गीका आधारमा ‘टप टु बटम’ उध्र्वतर रहने सामन्तवादी प्रणाली, ‘टप टु बटम’ तर बीचबीचमा ‘डेमोक्य्राटिक’ अभ्याससहित निर्वाचित तर छिन्नभिन्न रहने पुँजीवादी प्रणालीभन्दा हरक्षण, हरइश्युमा अनुमोदित (क्रान्ति र रुपान्तरणको निरन्तर प्रक्रियामा रहने हुनाले) विसाल जनवादी केन्द्रीयताको अभ्यासमा आधारित सामूहिक विमर्शमार्फत् संश्लेषित क्रान्तिकारी वा कम्युनिष्ट प्रणाली सबैभन्दा अग्रगामी हुन्छ । अतर्क बुद्धिवाद वा यथास्थिति र पश्चगमनको यसमा स्थान हुँदैन ।

सांगठनिक रुपमा आजभन्दा करीब आधा शताब्दी अघि नै क.माओको पालामा बढी सामूहिक, प्रतिनिधिमूलक तथा सहभागिताका हिसाबले ‘थ्रि इन वान’ को थ्योरी लागु गरिइसकिएको छ । अहिले सांगठनिक रुपमा बढी इन्टरयाक्टिभ वा अन्तरक्रियामूलक बनाएर लगिनुपर्ने आवश्यकतालाई महसुस गरी सापेक्षतामा सबै सामाजिक वर्गको प्रतिनिधित्व हुने गरी पार्टी संगठनभित्र सकेसम्म ‘अल इन वान’ बनाउनु जरुरी भएको छ ।

विचार, क्षमताका साथै प्रतिनिधित्वका आधारमा सोचिनु पर्छ, भलै यो सेल कमिटीबाट नै लागू गर्न प्रयास किन नगरियोस् । एकदिन त्यो विकास भएर नीति निर्माणको तहमा पुग्छ र एक जात, वर्ग, वंश, क्षेत्र, नस्ल, लिंग, समुदाय आदिको अन्त्यसँगै यसले सामूहिकता र बहुजन हितायको स्थितिमा पुर्याउँछ । यसले नयाँ सरकार र नयाँ राज्य निर्माणको मात्र होइन, राज्य विलोपीकरणको मैत्रीपूर्ण बहसमा एकसाथ अघि बढाउन मद्दत पुर्याउँछ ।