अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघसहित ७ ट्रेड युनियन महासंघको विरोध कार्यक्रम सम्पन्न

  काठमान्डौ,भदौ २५। नेपाली श्रमिक वर्गको हक अधिकार र व्यवस्था स्थापनाको पक्षमा निरन्तर क्रीयाशिल ७ ट्रेड युनियन महासंघको संयुक्त विरोध कार्यक्रम काठमाडौको माइतीघर मण्डलामा सम्पन्न भएको छ ।

कोरोनाको त्रास देखाई सरकारले ६ महिना देखि निरन्तर जारी राखेको लकडाउन र निषेधाज्ञाको कारण नेपाली श्रमबजारमा क्रीयाशील उत्पीडित मजदुर र विपन्न समुदायको जीवन संकटपुर्ण अवस्थामा पुगेको, मजदुरहरुको व्यापक रोजगारी कटौती गरिएको, तलब सुविधा कटौती गरिएको, विभिन्न मजदुर विरोधी सम्झौताले मजदुरहरुको हक अधिकारलाई कमजोर बनाएको, वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरहरुको स्वदेश आउने प्रक्रिया अनिश्चित भएको भन्दै विरोध सभामा राज्यको विशेष ध्यानाकर्षण र खबरदारी गरिएको छ ।


विरोध सभामा मजदुर लड्ने को सँग रु रोग सँग कि भोक सँग रु भन्दै राज्यले अनिश्चित लकडाउनको अन्त्य गरि उत्पीडित मजदुर वर्गलाई गरिखान दिनु पर्ने, मजदुरहरुको रोटी, रोजगारी र सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने, मजदुर विरोधी ऐन तथा सम्झौता खारेज गर्नु पर्ने, मजदुरलाई तत्काल खान पुग्ने गरि नगद राहत उपलब्ध गराउनु पर्ने,वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरलाई हवाई भाडा, स्वास्थ्य परिक्षण लगायत निशुल्क गरि अविलम्ब स्वदेश आउने वातावरण बनाउनु पर्ने सहितका मागहरु राखेर नारा जुलुस गरिएको थियो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीले सञ्चालन गरेको विरोध प्रदर्शन तथा संयुक्त मजदुर सभालाई समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लाल ध्वज नेम्वाङ, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गीरि, क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिना र नेपाल ट्रेड युनियन फेडेरेसनका उपाध्यक्ष नारायण थापाले सम्बोधन गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै मजदुर नेताहरूले नेपालको मजदुर वर्गले भोगिरहेको यस किसिमको संकटमा राज्यले उत्पीडित मजदुर वर्गको पक्षमा काम गर्न नसकेको भन्दै मजदुर हरुको संकटलाई अविलम्ब सम्बोधन गर्न राज्यलाई दबाब सहितको ध्यानाकर्षण गराउदै राज्यले यहि प्रकारको गतिविधि कायम राखे मजदुरहरुले विद्रोह रोज्न बाध्य हुनुपर्ने चेतावनी समेत दिएका छन ।

 

मजदुरहरुको हक अधिकारको पक्षमा मजदुर संगठनहरुले विगतमा पनि यस किसिमका विरोधका कार्यक्रमहरु गर्दै आएका छन । यहि श्रावण १६ गते ६ ट्रेड युनियन महासंघले संयुक्त रुपमा मजदुरको रोजगारी कटौती, तलब सुविधा कटौती र मजदुर विरोधी सम्झौताको विरुद्ध काठमाडौमा सशक्त विरोध प्रदर्शन र मजदुर विरोध सभा सम्पन्न गरेका थिए।


७ ट्रेड युनियन महासंघमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघ, नेकपा(माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोन्ट), माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन, नेकपा निकट अखिल नेपाल ट्रेड युनियन र स्वतन्त्र ट्रेड युनियन महासंघ रहेका छन