गंगामाया वीर अस्पतालमा अलपत्र

काठमाडौं,भदौ २८। सरकारले कोभिड अस्पताल बनाउन वीर अस्पताल खाली गरेसँगै त्यहाँ उपचाररत गंगामाया अधिकारी अलपत्र परेकी छन्।

 

कोरोना संक्रमितबाहेकका बिरामीलाई अन्तै राख्ने व्यवस्था गरे पनि अस्पताल प्रशासनले गंगामायालाई भने बेवास्ता गरेको छ। उनी लामो समयदेखि वीर अस्पतालमै रहेर उपचार गराउँदै आइरहेकी छिन्।

 

अप्ठेरोमा साथ दिने कोही नभएपछि अस्पतालको तेस्रो तलामा अहिले उनी एक्लैै परेकी छन्। कुरुवा बस्न आफन्तजन पनि कोही आउँदैनन्।

 

गंगामायाको अवस्थाबारे विभिन्न निकायका अधिकारवादी र पूर्वप्रधानन्यायीशहरूले चासो देखाएका छन्। उनीहरूले वीर अस्पतालको मुख्य भवनलाई कोभिड अस्पतालमा परिणत गरे पनि गंगामायालाई बेवास्ता नगरी अन्य बिरामीलाई जस्तै अन्यन्त्र सार्ने व्यवस्था मिलाउन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

 

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले उनलाई सुरक्षित ठाउँमा राख्नुपर्नेमा जोड दिँदै आएका छन्। त्यस्तै अधिकारवादीहरू दमननाथ ढुंगाना, केदारभक्त माथेमा, शम्भु थापा, डा.वीरेन्द्र मिश्र, डा.गौरी शंकरलाल दास, चरण प्रसाईलगायतले पनि सरकारले गंगामायालाई चाडै नै सुरक्षित ठाउँमा सार्न अपिल गरिरहेका छन्।

उनलाई वीर अस्पतालमै राखिरहे गंगामायालाई थप जोखिम हुन सक्नेप्रति सचेत हुनुपर्ने उनीहरूको भनाइ छ।

 

अस्पताल प्रशासनले डाक्टर, नर्स र अन्य कर्मचारीलाई अन्तै सारिसकेको छ। एकातिर अस्वस्थ र अर्कातिर बेवारिसेझै बनेकी उनीमाथि चिकित्सकको निरन्तर निगरानी आवश्यक छ।

 

तर १५ दिनयता उनलाई स्वास्थ्यकर्मीले सामान्य सोधपुछसमेत गरेका छैनन्। ‘न्याय र उपचार माग्न बसेकी छु, अस्पताल अहिले भुतबंगालाजस्तै भएको छ।

 

केही दिनअघि त २७÷२८ बिरामी र उनीहरूका कुरुवा हुन्थे। म उनीहरूलाई नै हेरेर मन बुझाउँथें,’ उनले भनिन्, ‘अहिले पारिपट्टिको उज्यालो हेरेर रात कटाउने गरेकी छु। अप्ठेरोमा परे पनि सहारा दिने कोेही छैनन्।

 

गोर्खा फुजेलकी गंगामाया सशस्त्र द्वन्द्वकालमा हत्या गरिएका छोरा कृष्ण अधिकारीको न्यायका लागि लामो समयदेखि लड्दै आइरहेकी छन्।

 

उनको अनशन जारी रहेकाले बिरामी हुँदा उपचार र हेरचाह सरकारले नै गरिदिने भएपछि उनी वीर अस्पतालमा भर्ना भएर बस्दै आएकी हुन्।

 

छोराकै न्यायका लागि लड्डालड्दै उनका पति बितेको सात वर्ष भइसकेको छ। भाइलाई न्याय र हत्यारालाई कारबाही माग गर्दै आएका गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारीलाई अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएको छ।

 

‘यो देशमा अपराधी त बाजा बजाएर जेलबाट निस्किन्छन् तर मेरो सहारा रहेका निर्दोष छोरालाई कैदी बनाइएको छ,’ गंगामायाले भनिन्, ‘सरकारले दुःखीमाथि ठूलो अन्याय गरेको छ।

 

कोरोना संक्रमणको जोखिम रहेका कारण अस्पतालका कर्मचारी उनको नजिकै पर्दैनन्। उमेरले वृद्ध अवस्थामा पुगेकी गंगामाया अस्पतालभित्रको एउटा कोठामा टोलाउँदै समय गुजार्छिन्।

 

गंगामाया पनि अन्य बिरामीलाई जस्तै अन्तै सर्नुपर्ने अस्पतालका निर्देशक डां केदार सेन्च्युरीले बताए। ‘ठाउँ मिल्यो भने कतै सार्दिन्छौं तर सामान्य ठाउँमा उहाँ बस्नुहुन्न, यहाँ अस्पताल मात्रै ओगटेर बस्नुभएको छ,’ उनले भने, ‘उहाँको जिम्मा हामी लिनै सक्दैनौं, गृह वा अरू नै निकायले लिनुपर्छ।’

 

निर्देशक सेन्च्युरीले अहिले गंगामाया बिरामी नभएका कारण चिकित्सक नराखिएको बताए। अनशनकारी गंगामायालाई गृहले पठाएकाले त्यही मन्त्रालयले नै अन्यत्र सार्नुपर्ने उनको भनाइ छ।

 

अधिकारवादी चरण प्रसाईंले गंगामायाको अवस्थाबारे सरकारले ख्याल गर्नुपर्ने बताए। उनले अन्य बिरामीको दाँजोमा राखेर गंगामायालाई तड्पाउन नहुने जानकारी दिए।

 

राज्यले नै उहाँलाई वीरमा लगेर राख्यो तर अहिले एक्लै बनाएको छ,’ उनले भने, ‘बिरामीलाई एक्लै सुनसान ठाउँमा राख्नु गैरजिम्मेवारीपन हो।

गंगामायाको हालको अवस्थाबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गृहमन्त्री रामबहादुर थापालगायतलाई जानकारी गराए पनि चासो नदेखाएको प्रसाईंको भनाइ छ।नागरिक दैनिकमा खबर छ।