जुम्लामा चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका डा.केसी : सास रहुञ्‍जेलसम्म लडिरहन्छु माफियाको अन्त्य गर्न

जुम्ला,असोज २।जुम्लामा चिकित्सा शिक्षा सुधारको माग गर्दै रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन थालेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अनशन बसेको चौथो दिनमै स्वास्थ्य अवस्था बिग्रिए पनि केसीले स्लाइनसमेत लगाउन मानेका छैनन्।

 

उनको स्वास्थ्य अवस्था खस्किदै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.प्रविन गिरीले बताए । उनका अनुसार प्रतिष्ठानको टोली बिहीबार केसीको स्वास्थ्य अवस्था जाँच गर्न अनशनस्थल पुगेको थियो । ‘स्लाइन लगाउन पनि दिनुभएन,’ उनले भने, ‘शरीरका विभिन्न भागमा कमजोरी देखा परेको छ ।

 

प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन् । २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग केसीको छ ।

 

‘सास रहुञ्जेलसम्म लडिरहन्छु,’ डा.केसीले भने, ‘मेडिकल माफियाको अन्त्य र गरिब जनताको छोराछोरीले डाक्टरी पढ्न पाउने एजेण्डासहित पवित्र बाविरामष्टो मन्दिरमा सत्याग्रहमा बसेको हुँ ।

 

डा. केसीले मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए । तर प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका हुन् ।

डा.केसीलाई मुगाली समुदायको समर्थन

डा.केसीको अनशनप्रति जुम्लाका मुगाली समुदायले समर्थन जनाएका छन् । बिहीबार अनशनस्थलमा केसीलाई भेट्न पुगेका मुगाली समुदायका झण्डै एक सय बढी अगुवाले उनको अभियानप्रति ऐक्यबद्धता जनाएका हुन् ।

 

‘डा.केसीका मागहरु जायज छन्, हाम्रो अधिकारका लागि उहाँ लडिरहनुभएको छ,’ समुदायका अगुवा महेन्द्र कार्कीले भने, ‘आवश्यक परे हामी पनि सडकमा आउन तयार छौं ।

 

डा.केसीको मागको सम्बोधन गर्न माग गर्दै युथ कांग्रेस, जुम्ला र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

कर्णालीजस्तो दुर्गम ठाउँमा डाक्टरी पढाइ गरिनुपर्ने कर्णालीबासीको माग डा। केसीले गरिरहेको स्थानीय विद्यार्थी अनिल थापाले वताए ।

 

‘हामी आफैं अनशन बस्नुपर्ने हो,’ उनले भने, ‘उहाँ अनशन बसेपछि केसीको जीवनरक्षाका लागि जस्तोसुकै कदम लिन पनि हामी तयार छौं । केसीका माग समयमै पूरा गर्न सरकार तयार नभए युवाहरु आन्दोलनमा उत्रिने स्थानीय प्रज्वल महतले बताए ।