असोज ५ गतेदेखि पूर्ण क्षमतामा हवाइ उडान सुचारु

काठमाडौं,असोज ३ । बायु सेवा कम्पनीहरूले असोज ५ गतेदेखि पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेसंगै ५ गतेदेखि उडान हुने भएको छ ।

 

शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको छ।५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्‍ने वायुसेवा संचालकहरूले अडान लिएपछि मन्त्रालयले यसअघिको निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन अनुमति दिएको छ।

 

पर्यटन सचिव सचिव केदारबहादुर अधिकारीले उपलब्ध यात्रु बोक्‍न पाउने गरी उडान भर्न वायु सेवा संचालकलाई अनुमति प्रदान गरिएको जानकारी दिनु भयो।

 

मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज पाँच गतेदेखि नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई २५ प्रतिशत उडान संख्या कायम गर्ने गरी समय तालिका स्वीकृत गर्न निर्देशन दिएको जनाएको छ।

 

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञापछि विभिन्न क्षेत्र खुल्न थालेपछि मन्त्रालयले शुक्रबार शतप्रतिशत क्षमतामै उडान गर्ने निर्णय गरेको हो।

 

आन्तरिक उडानका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडी नै अनिवार्य हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने प्रावधान बनाएको छ। प्रत्येक वायुसेवा कम्पनीको स्वास्थ्य सुरक्षा अवलम्बन पालनाको नियमित अनुगमन प्राधिकरणले गर्नेछ।

 

यसअघि निजी क्षेत्रको वायुसेवा छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन)ले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको बताएको थियो।

 

एओएएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हिजो पूर्ण क्षमतामा यात्रु राखेर पुरानै भाडादरमा सञ्चालन गर्न दिएमात्रै उडान गर्न सक्ने बताउनु भएको थियो । हिमालय टाइम्सबाट,