परीक्षामा जुट्न थाले विश्वविद्यालय

काठमाडौँ, असोज ६ । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् ।

 

त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको छ।

घरैबाट परीक्षा

यस क्रममा पूर्वाञ्चल विश्वविद्यालयले असोज दोस्रो साताबाट नियमिततर्फको स्नातक तथा स्नातकोत्तर तर्फको परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा यस पटक अनलाइनबाट लिने गरी तय भएको विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवराज कोइरालाले जानकारी दिनुभयो ।

 

विश्वविद्यालयले यसलाई वैकल्पिक विधि अर्थात् निश्चित समयमा घरबाट दिने परीक्षाबाट लिने भएको हो । यो परीक्षा नियमिततर्फ सेमेस्टरमाअध्ययनरत विद्यार्थीका लागि मात्रै रहेको जनाइएको छ ।

विश्वविद्यालय तथा कलेजका कक्षाकोठामा पठनपाठन खोल्ने अनुमति हाल नभएकाले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरिएको जानकारी विश्वविद्यालयका अधिकारीहरूले दिएका छन् । विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदा यसअघि कक्षा कोठामा दिएजतिकै समय विद्यार्थीलाई दिने जनाएको छ ।

नेसंविमा असोज १५ बाट

प्रविधिमा विद्यार्थीको पहुँच नभएपछि नेपाल संस्कृत विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने निर्णय गरेको छ । विश्वविद्यालयले पहिलो चरणमा असोज १५ बाट आयुर्वेद स्नातक ९बीएएमएस० तहको नियमित तथा पूरक तहका विद्यार्थीको परीक्षा लिने निधो गरेको छ । बीएएमएसतर्फ प्रथम, द्वितीय र तृतीय वर्षका विद्यार्थीको परीक्षा लिइने भएको हो ।

विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीले क्याम्पस तथा विद्यार्थीसित सम्पर्क गर्दा भौतिक उपस्थितिमै सामाजिक दूरी कायम गरेर परीक्षा लिन सुझाव आएकाले त्यसअनुसार अगाडि बढ्न लागिएको जानकारी दिनुभयो ।

 

यसका साथै विश्वविद्यालयले अन्य तहका परीक्षाको तयारीसमेत अघि बढाएको जनाइएको छ । यस क्रममा मङ्सिरमा शास्त्री प्रथम, द्वितीय, तृतीयका विद्यार्थीको परीक्षा लिने निधो गरेको छ ।

 

काठमाडौँको वाल्मीकिमा सबैभन्दा धेरै विद्यार्थी रहेका र उपत्यकामा सङ्क्रमण बढेको अवस्थामा उक्त परीक्षा मङ्सिरमा लिने योजनामा विश्वविद्यालय पुगेको छ । शास्त्रीतर्फको विद्यार्थीको यो स्थगित परीक्षा हो ।

मध्यपश्चिमको परीक्षा १७ गतेबाट

मध्यपश्चिम विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा असोज १७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणको यो परीक्षा कात्तिक ६ भित्र पूरा गर्ने विश्वविद्यालयको कार्यतालिका छ ।

 

दोस्रो चरणमा मङ्सिरको पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेको उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले जानकारी दिनुभयो।

 

कुनै पनि तहमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र नबिग्रने गरी परीक्षा लिइने जनाइएको छ । एमफिल र विद्यावारिधि तर्फको पठनपाठनमा कुनै समस्या नरहेको जनाइएको छ ।

विश्वविद्यालयले बन्दाबन्दीको अवधिमा समेत कुनै पनि विद्यार्थीको परीक्षाफल प्रकाशन नरोकिएको जनाएको छ । बन्दाबन्दीकै अवधिमा विश्वविद्यालयले ४९ वटा परीक्षाफल प्रकाशित गरिएको जानकारी उपकुलपति सिंहले दिनुभयो ।

त्रिवि कार्यतालिका बनाउँदै

उच्च शिक्षामा सबैभन्दा धेरै विद्यार्थी भार वहन गरेको त्रिभुवन विश्वविद्यालयले भने परीक्षाका लागि तयारी गर्दै गरेको र यस विषयमा पदाधिकारी तहमा छलफल सुरु गरिएको जनाइएको छ । परिस्थिति हेरेर एक साताभित्र परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने जानकारी विश्वविद्यालयका पदाधिकारीले दिएका छन् ।

 

विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहको स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन । यसै साता स्थगित परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने विश्वविद्यालयको तयारी छ ।

लुम्बिनीमा परीक्षा जारी

लुम्बिनी बौद्ध विश्वविद्यालयले भौतिक तथा अनलाइनबाट स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । भौतिक तथा अनलाइन माध्यमबाट विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा ल्याएको हो ।

 

विश्वविद्यालयका उपकुलपति प्रा।डा। हृदयरत्न वज्राचार्यले चालू परीक्षा सकिएलगत्तै स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षा सञ्चालनको तयारीमा आफूहरू रहेको जानकारी दिनुभयो । विदेशमै भएका विद्यार्थीलाई पनि अनलाइन माध्यमबाट परीक्षा लिने योजना बनाइएको छ ।गोरखापत्र दैनिकमा खबर छ।