शृंखलाबद्ध हत्या गुपचुप : प्रहरी अझै बेखबर

गोरखा,असोज ६। दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुई लाख रुपैयाँ थमाए । घटना सामसुम भयो ।

 

चार घण्टा पर रहेको प्रहरी चौकी नाम्रुङले यत्तिका दिनसम्म घटनाबारे केही पत्तो पाएको छैन । जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय पनि यसबारे अनभिज्ञ छन् ।

 

गत असारमा यार्सागुम्बा संकलन गर्न गएका सोही गाउँका दुईजनामध्ये टसी दोर्जे फर्किएनन् । सँगै गएकाले टसी दोर्जेको परिवारलाई दुई लाख रुपैयाँ तिरे । सो घटना पनि सामसुम भयो ।

 

यी दुई त ताजा घटना हुन् । विगत १५ वर्षयता बिही गाउँमा आठ वटाभन्दा धेरै यस्ता घटना सामसुम भएका छन् । कतिपय घटनाका दोषी प्रष्ट भएर पनि गुपचुप बनाइएका छन्, कतिपय रहस्यको गर्भमै छन् ।

 

अपराध गर्नेको विपक्षमा बोल्न सक्ने हिम्मत गाउँमा कसैको नभएको स्थानीयवासीको दुःखेसो छ । ‘बोलौं भने हामीलाई पनि ज्यानको माया लाग्छ’, एक स्थानीय नाम नखुलाइदिन अनुरोध गर्दै भन्छन्, ‘अपराधी जरा गाढेर बसेको छ । दिनदहाडै हत्या गरेको देखेपछि को बोल्न सक्छ र ?

 

२०६२ सालको माघ १२ गते बिहीका घरभित्रै घाँटी रेटेर सोनाम छिरिङको हत्या भयो । २०६४ सालमा सोनाम ग्याल्बोको टाम्लिङ भीरबाट खसालेर हत्या भएको स्थानीयवासी बताउँछन् ।

घटनामा संलग्नको आशंकामा दुईजनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याउँदै गर्दा प्रहरीको नियन्त्रणबाट मुक्त गरेर फिर्ता गरिएको स्थानीयवासी बताउँछन् ।

 

गाउँमा भएको भ्रष्टाचारको विद्रोह गर्ने बिहीको कोया गाउँका एक युवाको न्याकफेदीमा शव भेटियो । कुनै छानबिनै नभई अन्त्येष्टि गरियो । जडीबुटी संकलन गर्न गएका दुईमध्ये बिहीफेदीका फु तेञ्जिन फर्किएनन् ।

 

छ्योतुम्बु गुम्बाको मेल भर्न गएकी बिहीकै रानागाउँकी एक युवतीको शव खोल्सामा भेटियो । कुनै घटनाको पनि कसैले खोजीनीति गरेनन् ।

 

गाउँमा शृंखलाबद्ध रूपमा अपराधजन्य घटना भइरहे पनि कसैले अनुसन्धान गर्न पहल गरेका छैनन् । ‘प्रहरीलाई खबर ग¥यो भने पनि एक न एकदिन ऊ निस्किएर आइहाल्छ ।

 

अनि उ आएपछि आफू पनि रहने सम्भावना हुँदैन’, एक स्थानीय भन्छन्, ‘त्यसैले कसैले पनि प्रहरीलाई खबर गर्ने हिम्मत गर्दैनन् ।

अपराधको घटना भए पनि कुनै रहस्यकै गर्भमा रहने, कुनै घटनाको रहस्य खुल्यो भने मृतकका आफन्तलाई पैसा दिएर थामथुम पार्ने गरेको उनको भनाइ छ ।अन्पूर्ण पोष्टबाट,