सिन्धुपाल्चोकका पहिरोपीडित : बाँसखर्कमा टेन्ट, लिदीमा स्थानीय

सिन्धुपाल्चोक,असोज ६। ३९ जनाको ज्यान जाने गरी लिदीगाउँमा पहिरोले बस्ती नै पुरेको महिना बित्यो । खोज, उद्धार र राहतसँगै पहिरोपीडित तथा विस्थापितका लागि सेलाङको बाँसखर्कमा डेढ सय परिवारलाई अस्थायी बासस्थान व्यवस्थापन गरियो ।

 

बाँसखर्कको पाखो टेन्टले भरिभराउ हुँदा बहुसंख्यक लिदीबासी गाउँमै बसिरहेका छन् । उनीहरूले आफ्नो थातथलो छोडेका छैनन् ।

 

१ सय ३२ घरका ७ सय ६० मध्ये बाँसखर्कको अस्थायी सेल्टरमा २ सय ५९ जना मात्र भेटिए । पहिरोले घरबास उठाएकाहरू बाँसखर्कमै छन्, परिवारका एक जनालाई बाँसखर्कमा राखेर अधिकांश स्थानीय गाउँमै बसोबास गर्दै आएका छन् । राहत सामग्री लिन बाँसखर्कमा परिवारका एक जना बस्छन्, अरू लिदीगाउँमै छन् ।

 

स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले लिदीगाउँका विस्थापितलाई अस्थायी बसोबासका लागि बाँसखर्कमा टेन्ट राखिदिए पनि लिदीबासीले थातथलो भने छाडेनन् ।

 

तत्काल अस्थायी बसोबासका लागि बाँसखर्कमा व्यवस्थापन त भयो तर झन्डै सय परिवारका ३ सय ३६ जना बाँसखर्क आएनन् ।

 

‘उहाँहरूको अस्थायी बसोबासका लागि बाँसखर्कमा हामीले व्यवस्थापन गरेका हौं, केही संख्यामा लिदीबासी गाउँमै हुनुहुन्छ भन्ने मैले पनि सुनेको छु।’ –जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो ।

 

लिदीगाउँसँगै जुगल गाउँपालिकाभित्र सयौं घरपरिवार पहिरोको जोखिममा रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि गाउँपालिकाले आन्तरिक तयारी थालिसकेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

 

भूगर्भविद् ल्याएर भू–अध्ययन गरी सम्भव भएसम्म साविकको बस्तीनजिकै जोखिमका जनतालाई पुनःस्थापना गर्ने जुगलको तयारी छ ।

 

त्यसो नभए सम्बन्धित वडाभित्र र वडाभित्र पनि उपयुक्त ठाउँ नभेटिए गाउँपालिकाभित्र कुनै पनि स्थानमा जोखिमका जनतालाई स्थायी स्थानान्तरण गरिने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

 

‘उपयुक्त ठाउँ पहिचान गर्दै छौं, सम्भव भएसम्म स्थानीयलाई सहज र सुविधा हुने गरी स्थायीरुपमा स्थानान्तरण गर्नेछौं’, अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘परिवार संख्याका आधारमा घर संचना तयार गरिदिनेछौं ।

 

यसअघि २०७२ को विनाशकारी भूकम्पपछि लिदीबासी विस्थापित भएर बाँसखर्कमै आएका थिए । केही महिना बाँसखर्क बसेर उनीहरू गाउँ फर्किएका थिए । यसअघि नै टेन्टको असहज बसाइँ भोगेका उनीहरू टेन्टमा बस्न यसपटक नआएका हुन् ।

 

पहिरोले घरगोठ क्षति गरे पनि बँँचेका गाईवस्तु, भेडाबाख्रा सम्हाल्नका लागि बहुसंख्यक लिदीबासी गाउँमै बसोबास गरिरहेका हुन् । ‘गाईवस्तु हेर्नुप¥यो, खेतीपाती उतै छ’, बाँसखर्कमा बस्दै आएकी सुकुमाई योञ्जनले भन्नुभयो– ‘परिवार उतै छन्, म मात्र यहाँ बस्दै आएको छु ।

 

पहिरोमा परी ज्यान गुमाएकाहरूको ४५ दिनको तिथि नजिकिँदै गर्दा मृतकका परिवार पनि गाउँ फर्कन थालेका छन् । दीर्घरोगी, सुत्केरी, गर्भवती र अपांगहरूलाई टेन्टको चिसोमा बस्न समस्या हुने भएपछि उनीहरू गाउँकै घरमा बसेका हुन् । लिदीगाउँका पहिरो प्रभावितमध्ये १५ जना अपांग, १३ जना गर्भवती, ४ जना सुत्केरी र ६ जना दीर्घरोगी छन् ।नेपाल समाचारपत्रमा खबर छ।