दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र

काठमाडौँ, असोज १० । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् ।

 

हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

 

कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासङ्घले जनाएको छ ।

 

विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ तर विगतमा जस्तो नभए पनि यात्रुको चाप सामान्य दिनभन्दा बढी नै हुने उहाँको दाबी छ ।

दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ । आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने वरिष्ठ उपाध्यक्ष स्वाँरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चाडबाड मुखमा आएको छ । असोज १५ देखि पूर्ण सिट क्षमतामा चाउनुको विकल्प छैन ।

 

त्यसो नगरिए यात्रुले टिकट पाउने सम्भावना निकै कम हुन्छ । आधा सिट मान्छे हालेपछि आधा मान्छे त काठमाडौँमा रहन्छन्, गाडीको सङ्ख्या त थपिएको छैन । 

आन्तरिक हवाई उडानलाई पूर्ण सिट क्षमतामा सञ्चालन हुन दिएपछि बसलाई मात्र रोक्नुको कुनै अर्थ नहुने महासङ्घले जनाएको छ ।

 

सुरक्षा सावधानी अपनाएर बस पूर्ण सिट क्षमतामा सञ्चालन गर्नुको विकल्प नभएको महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, “दशैँमा काठमाडौँबाट जाँदा यात्रुको चाप भए पनि फर्कदा गाडी खाली आउनुपर्छ । ”

 

चाडबाडमा सार्वजनिक सवारीसाधनको व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले असोज ११ व्यवसायीसँग बैठकको आयोजना गरेको छ ।

 

अग्रिम टिकट बुकिङ, कोरोना भाइरसबाट सुरक्षित हुने सुरक्षा मापदण्डलगायतका बारेमा छलफल गर्न व्यवसायीलाई बोलाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।गोरखापत्र दैनिकमा खबर छ।