गर्भपतन सेवा लिने महिला ४२ प्रतिशत मात्र

काठमाडौं,असोज १०। नेपालमा सुरक्षित गर्भपतन सेवाको सुनिश्चत गरेको १८ वर्ष बितिसक्दा पनि ४२ प्रतिशत मात्र यो सेवाको पहुँचमा रहेको तथ्यांक रहेको छ।

 

त्यसैगरी ४१ प्रतिशतलाई मात्र कानुनी मान्यता छ भन्ने जानकारी छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले शुक्रबार र शनिबार हुने ६ औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवाको अवसरमा यस्तो जानकारी दिएको हो। गर्भपतनको सेवा लिन आवश्यक परेका ५९ प्रतिशत सेवाको पहुँचबाट बाहिरै रहेको महाशाखाले औंल्याएको छ।

 

सुरक्षित गर्भपतन सेवाको अधिकार, सेवाबारे अहिले पनि दुर्गम, सांस्कृतिक मान्यता जस्ता कारणले सेवामा सबैको पहुँच पुग्न नसकेको परिवार कल्याण महाशाखा निशा जोशीले बताइन्।

 

हाल नेपालमा बढिरहेको कोभिड–१९ को कारण यो सेवामा पर्नसक्ने प्रभावलाई न्यूनीकरण गर्न विभिन्न गतिविधि अपनाएको महाशाखाकी जनस्वास्थ्य अधिकृत जोशीले बताइन्। ‘सुरक्षित गर्भपतन हाम्रो प्रतिबद्धता ’ भन्ने नाराका साथ यो दिवस मनाउँदै छौं,’ उनले भनिन्।

 

चार हजार डाक्टर तथा नर्सले सुरक्षित गर्भपतन सेवाको तालिम लिइसकेका छन् भने १५ सयभन्दा संस्थाबाट यो सेवा १३ लाख महिलाले सुरक्षित गर्भपतन सेवा लिइसकेका छन्। नेपालले सबै स्वास्थ्य संस्थाबाट निःशुल्क गर्भपतन सेवा दिइरहेको छ।

 

नेपाल परिवार सर्वेक्षणअनुसार नेपालमा मातृ मृत्युदर सन् १९९६ मा ५ सय ३९ थियो भने सुरक्षित गर्भपतन सेवा, परिवार योजनापछि यो दर घटेर सन् २०१६ मा पुग्दा प्रति लाखमा २ सय ३९ पुगेको छ।नागरिकबाट,