सार्वजनिक यातायातमा मनपरीः न स्यानिटाइजर न सामाजिक दुरी, भाडा भने दोब्बर

काठमाडौं,असोज १२। सार्वजनिक यातायात व्यवसायीले कोभिड–१९ महामारीको बेला काठमाडौं उपत्यकामा मनपरी ढंगले सार्वजनिक यातयात सञ्चालन गर्दा कोभिड–१९ को संक्रमणको जोखिम झनै बढेको छ।

 

यातायात व्यवसायीले कोभिड–१९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ को स्वास्थ्य मापदण्ड प्रभावकारी ढंगले पालना नगर्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

 

व्यवसायीले निर्देशिकाको धज्जी उडाउँदै विहान र बेलुकाको पिक आवरमा सिट क्षमताभन्दा धेरै यात्रु कोचेर दोब्बरभन्दा धेरै भाडा असुलिरहेका छन्।

 

त्यतिमात्रै होइन, काठमाडौं उपत्यकामा चल्ने अधिकांश सार्वजनिक सवारी साधनमा स्यानिटाइजर समेत राखेको हुँदैन। बिरलै चालक, सहचालकले मास्क लगाएको देखिन्छ।

 

अनुगमन गर्ने निकाय महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको हेलचेक्र्याइँले उपत्यकामा कोरोना संक्रमण उच्च हुने जोखिम बढेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम सार्वजनिक यातायातमा पर्याप्त मात्रामा स्वास्थ्य सावधानी नअपनाएको खण्डमा ठूलो मात्रामा संक्रमण फैलिने बताउँछन्।

 

‘सार्वजनिक यातायातबाट कोरोना संक्रमण फैलिने जोखिम एकदमै उच्च हुन्छ। त्यसैले कसैले पनि हेलचेक्र्याइँ नगरौं,’ उनले भने, ‘दुई मिटरको सामाजिक दुरी कायम गरेर मात्रै सार्वजनिक यातायात चढ्ने, चढाउने गरौं।’

 

सरकारले गत असोज १ गतेदेखि निषेधाज्ञा हटाएर सार्वजनिक यातायात सञ्चालन गर्न दिएको छ।

व्यवसायीले सरकारले तोकेभन्दा धेरै भाडा उठाएर यात्रु ठगिरहेका छन्। सरकारले सिट क्षमताको आधा मात्रै यात्रु राखेर थप ५० प्रतिशत भाडा लिन पाउने व्यवस्था गरेको छ।

 

जस अनुसार चार किलोमिटरसम्म यात्रा गर्दा १४ न्यूनतम रुपैयाँ भाडा छ। त्यसमा ५० प्रतिशत जोड्दा २१ रुपैयाँ मात्रै हुन आउँछ। तर यातायात व्यवसायीले चार किलोमिटरसम्मकै २५ रुपैयाँ उठाउँछन्। यसमा सम्बन्धित निकाय मौन छ।

 

न स्यानिटाइजर छ, न सामाजिक दुरी कायम गरिएको छ तैपनि भाडा भने दोब्बर असुलिरहेका छन् व्यवसायी।

सार्वजनिक यातायात प्रयोग गर्दै आएका अनिल शर्माले सार्वजनिक यातायातले तोकेभन्दा दोब्बर भाडा असुल्दै आएको बताए। ‘पहिला कोटेश्वरबाट सुन्धारा जाँदा १४ रुपैयाँले पुग्थ्यो, अहिले ३० रुपैयाँ मागेर हैरान पार्छन्,’ उनले भने, ‘अहिले विद्यार्थी छुट पनि छैन।’

 

यातायात व्यवस्था विभागले गत असोज ५ गते कोभिड १९ प्रकोप अवधिभरका लागि भनेर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ जारी गरेको थियो।

 

सो निर्देशिकामा सवारी साधनले प्रत्येक खेपपछि निर्मलीकरण गर्नुपर्ने, यात्रुले एकपटक सवारी साधन प्रयोग गरेपछि सिटको सरसफाइ गर्नुपर्ने, सिट क्षमताको आधा मात्रै यात्रु राख्नुपर्ने, सवारी साधनमा अनिवार्य रुपमा स्यानिटाइजर राख्नुपर्ने, चालक, सहचालकले मास्क लगाउनुपर्ने, यात्रु चढ्नेबित्तिकै सहचालकले यात्रुलाई स्यानिटाइजर लगाउन दिनुपर्ने लगायत मापदण्ड छन्।

 

तर यातायात व्यवसायीले यी कुनै पनि मापदण्ड राम्रोसँग पालना गरेका छैनन्।साबिकमा तोकिएको भाडाभन्दा ५० प्रतिशत बढी लिन पाइने व्यवस्था भए पनि व्यवसायीले झण्डै दोब्बर असुलिरहेका छन्।

 

निर्देशिकामा सार्वजनिक यातायात सञ्चालन तथा यात्रु व्यवस्थापन निर्देशिका बमोजिम कार्यान्वयन गर्ने जिम्मेवारी यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई छ। तर दुवै निकायले प्रभावकारी ढंगले अनुगमन र निरीक्षण नगर्दा यात्रु असुरक्षित भएका छन्।

 

ट्राफिक इन्जिनियर आशिष गजुरेलले सार्वजनिक यातायात व्यवसायीले न्यूनतम स्वास्थ्य सजगता समेत नअपनाएको बताए। ‘सार्वजनिक यातायातका साधन कोचाकोच यात्रु राखेर चलिरहेका छन्।

 

यसले कोरोना संक्रमणको जोखिम अझै बढाउनेछ,’ उनले भने, ‘राज्यले यातायात क्षेत्रलाई एक रुपैयाँ पनि आर्थिक सहयोग नगरेकाले कडिकडाउ गर्न नसकेको हो।’

 

गजुरेल सरकारले सार्वजनिक यातायात व्यवस्थित गर्नेतर्फ ध्यान नदिएकाले यस क्षेत्रले ठूलो समस्या भोग्दै आइरहेको बताउँछन्। ‘संसारभर नै सार्वजनिक यातायात सरकारको अनुदानमा चल्छ।

 

हाम्रोमा उल्टो छ,’ उनले भने, ‘सरकारले निजी क्षेत्रबाट सञ्चालित यातायातलाई व्यवस्थित गर्न नसकेकाले कोरोना संक्रमणको बेला अझै ठूलो समस्या देखिएको हो।

 

उनले यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले नियमित अनुगमन नगरेकाले यातायात व्यवसायीले मनोमानी गर्दै आएको बताए। ‘विभागले निर्देशिका मात्रै जारी गरेको छ।

 

तर प्रभावकारी अनुगमन भएको छैन, जसले गर्दा संक्रमणको जोखिम बढेको हो,’ उनले भने, ‘यातायात व्यवसायी र यात्रु सबैले सावधानी अपनाएको खण्डमा मात्रै सहज ढंगले सार्वजनिक यातायात सञ्चालन गर्न सकिन्थ्यो।’

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सार्वजनिक यातायात अनुगमनको क्रममा यातायात व्यवसायीले न्यूनतम स्वास्थ्य सतर्कतासमेत नअपनाएको पाइएको बताए।

 

‘सार्वजनिक यातायात व्यवसायीले निर्देशिका अनुसार मापदण्ड पालना नगरेको गुनासो आएसँगै अहिले दिनहुँ अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘उपत्यकामा दैनिक पाँच सयभन्दा धेरै सार्वजनिक सवारी साधनलाई नियम पालना गर्न निर्देशन दिँदै आएका छौं।

 

बढी भाडा लिनेको विषयमा उजुरी आउनासाथ कारवाही गर्नेछौं।प्रमुख ढकालले कोरोना महामारीको विषम परिस्थितिमा सार्वजनिक सवारी साधनका चालक, सहचालक र यात्रु सबैले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताए।

 

अहिलेसम्म महाशाखाले १३ सयभन्दा धेरै सार्वजनिक सवारी साधनलाई कारवाही गरेको जनायो। महाशाखाले ४४ युनिटमार्फत अनुगमन गरेको जानकारी दिएको छ।नागरिक दैनिकमा खबर छ।