डा .केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौँ,असोज १३। १५ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीमा देखिएको स्वास्थ्य जटिलताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्न सक्ने देखिएको छ ।

डा.केसीको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक प्रा.डा.सुवासप्रसाद आचार्यले केसीको स्वास्थ्य जटिलताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्ने आवश्यकता पर्नसक्ने देखिएको बताए ।

 

डा.केसीलाई बारम्बार छाती दुखाइ, बीचबीचमा रोकिएर धड्कन बिग्रने, मांसपेशी बाउँडिने, थकाइ र पटकपटक चक्करको समस्या देखिएको छ ।

 

उनको रक्त परीक्षणमा सेतो रक्त कणिकाको संख्या धेरै कम देखिएको छ । यस्तै ब्लड सुगरमा कमीसँगै सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फोस्फोरस जस्ता इलेक्ट्रोलाइटसमेत कम देखिएको छ।

 

डा.आचार्यका अनुसार रक्तबाहिनी नलीमा आपत्कालीन पहुँच कायम राख्न डा.केसीलाई नर्मल स्लाइन दिइराखिएको छ। तर अन्य तरल पदार्थ र इलेक्ट्रालाइट लिन उनले अस्वीकार गरेका छन् ।

जुम्लामा १९ औं सत्याग्रह थालेका डा.केसी ६ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन् ।कान्तिपुरबाट,