पाकिस्तानमा आजदेखि सबै शैक्षिक संस्थाहरु खुले

इस्लामावाद,असोज १४। कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् ।

सरकारी अधिकारीहरुले झण्डै छ महीनापछि बुधवारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै ३ लाख मानिस संक्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् ।

सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको बताइएको छ । सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ ।

त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए ।

कोरोना भाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

 

पाकिस्तानमा अहिलेसम्म कुल ३ लाख १२ हजार २६३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ७४७ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको पनि राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा थप पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ६ हजार ४७९ जना पुगेको छ ।पाकिस्तानमा अहिले पनि कोरोना भाइरसको संक्रमणका कारण ४६७ जना गम्भीर अवस्थामा रहेका छन् ।

 

मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये २ लाख ९६ हजार ८८१ जना अहिले पूर्णरुपमा संक्रमणमुक्त भइसकेका छन् ।

सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा ३२ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन् । पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ । रासस/ पीटीआई