एकै दिन प्रदेश १ मा चार जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,असोज १४।  कोरोना भाइरस संक्रमणका कारण चार जना पुरुषको बुधबार मृत्यु भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र र धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठनमा उपचाररत चार जना पुरुषको मृत्यु भएको हो।

 

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बुधबार दिउँसो १२ः३५ बजे सुनसरीको इटहरी–५ का ७३ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको उपचार केन्द्रले जनाएको छ।

 

उपचार केन्द्रमा भर्ना गरेर उपचार थालिएको डेढ घण्टा नबित्दै वृद्धको मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे छ।  कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि ल्याइएको थियो। श्वास फेर्न गाह्रो हुने बाहेक वृद्धमा स्वास्थ्य सम्बन्धी अरु पुरानो कुनै समस्या नदेखिएको अस्पतालले जनाएकाे छ।  

 

त्यस्तै बुधबार बिहान ७ः३० बजे उपचारका क्रममा सुनसरीको हरिनगरा–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। असोज ९ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालको फोक्सो वार्डमा भर्ना गरिएको अस्पताल स्राेतले जनकारी दिएकाे छ।

 

अस्पतालमा भर्ना गरेर उपचार थाल्दै गरिएको स्वाब परीक्षणको चार दिनपछि आएको रिपार्टमा पोजेटिभ आएको थियो। ‘पोजेटिभ रिपोर्ट आएसँगै थप समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्‍यौं,’ प्रबन्धक दाहालले भने मृतकमा उच्च रक्तचाप, ज्वरो र निमोनियाको समस्या थियो। कोरोनासँगै फोक्सोमा फैलिएको संक्रमण नियन्त्रण गर्न नसक्दा संक्रमित पुरुषको मृत्यु भएको हो।

 

त्यस्तै विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे मृत्यु भएको हो। असोज ४ गते ती पुरुष उपचार केन्द्रमा भर्ना भएका थिए।

 

  बुधबार बिहान मृत्यु भएका पुरुषलाई आठ दिनदेखि भेन्टिलेटरमा राखेर रेमडिसिभर औषधिसहित उपचार गरिएको थियो। एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो।

 

त्यसैगरी, धरानस्थित बिपी प्रतिष्ठानमा बुधबार बिहान ३ः१० मा सप्तरीको राजविराज–४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो। यससँगै प्रदेश १ का विभिन्न अस्पतालमा कोरोना संक्रमित १९ महिला र ५२ पुरुष गरी ७१ जनाको मृत्यु भएको थियाे।