म्याग्दीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,असोज १४। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटमा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ ।

 

बेलबोटकी ४३ वर्षीया माया सार्कीको शव बुधबार दिउँसो घर नजिकै खाडलमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माका अनुसार अनुन्धानका लागि मायाका श्रीमान ३९ वर्षीय वीरबहादुर सार्कीलाई नियन्त्रणमा लिइएको छ । घरदेखि करिब १५ मिटरको दुरीमा मायाको शव भेटिएको थियो ।

 

शरीरमा चोटपटक नदेखिए पनि हत्या गरेर खाडलमा गाडेको हुनसक्ने प्रहरी निरीक्षक शर्माको भनाइ छ । सार्कीका छोराछोरीले प्रहरीले दिएको बयान अनुसार मंगलबार राती अबेरसम्म दुवैजनाले मदिरा सेवन गरेर झगडा गरेका थिए ।

मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । प्रहरीका अनुसार थप अनुसन्धान भइरहेकाे जनाएकाे छ।