कांग्रेसका दुइ सांसद खाँण र थापाले गरे दसैं भत्ता फिर्ता

काठमाडौँ,कार्तिक २। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सांसद गगन कुमार थापाले सांसदका रूपमा पाएको दसैं भत्ता फिर्ता गर्ने घाेषणा गरेका छन्। 

 

एक विज्ञप्ति जारी गरेर प्रमुख सचेतक खाँणले दसैं भत्ता फिर्ता गरेको जानकारी गराएका छन् ।प्रमुख सचेतक खाँणले दसैं भत्ता बापतको रकम जनहितमा खर्च गर्नका लागि भन्दै फिर्ता गरेको उल्लेख गरेका छन् ।

 

हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाई भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएकोले मलाई प्राप्त भएको दसैं भत्ता बापतको रकम संसद सचिवालय मार्फत जनताकाे सेवामा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु खाँणले विज्ञप्तिमार्फत भनेका छन् ।

खाँणले उक्त रकम सरकारको कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई आग्रह समेत गरेका छन् ।

 

नेपाली कांग्रेसका सांसद थापाले पनि आफ्नो खातामा आएको दसैं भत्ता बापतको रकम संघीय संसद सचिवालयमा फिर्ता गरेको जानकारी दिएका छन्।  उनले नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरिएको बताएका छन् ।

 

सांसदहरूको खातामा असोज महिनाको पारिश्रमिकसँगै दसैं खर्च पनि संसद सचिवालयले जम्मा गरिदिएको थियो । दसैं भत्ता सांसदहरूलाई दिइएकोमा आलोचना भएसँगै केही सांसदहरूले आफूले भत्ता फिर्ता गरेको भन्दै सार्वजनिक गरेका छन्। केहीले संसद सचिवालयलाई पत्र लेखेर रकम फिर्ता गर्न आग्रह गरेका छन् ।