गाउँपालिका अध्यक्षको अश्लिल फेसबुक च्याट सार्वजनिक

काठमाडौं,कार्तिक ४। शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाललाई एक महिलसंग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टी दोलखाले साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको छ।

 

मंगलबार सम्पन्न जिल्ला कार्यालयको बैठकले ति महिलासंग गरिएका दुलालका अश्लिल संवादसहितका ‘स्क्रिन सट’ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नैतिकता र पार्टी अनुशासनसंग जोडेर संगठित सदस्य समेत नरहने गरी कार्बाही गर्नका लागी नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश कमिटि समक्ष सिफारिस गरेको छ।

 

तत्कालिन नेकपा एमालेका दुई पटक जिल्ला सचिव भईसकेका दुलाल नेकपा दोलखाका सचिवालय सदस्य हुन्। नेपाल कम्युनिष्ट पार्टीको बिधानमा जिल्ला कमिटि सदस्य भन्दा माथिल्लो पदका व्यक्तिलाई जिल्ला पार्टीले स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझे कार्बाहीका लागि प्रदेश कमिटिमा सिफारिस गर्नुपर्ने ब्यवस्था रहेकाे छ।

 

मंगलबार बिहान बसेको कार्यालय बैठकले गरेको कार्बाही बारे जिल्ला पार्टीले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन। अध्यक्ष ईश्वरचन्द्र पोखरेल र सचिव गोपाल पाण्डेलाई कार्बाहीका बारेमा सोध्न फोन गर्दा दुवैले फोन उठाएनन्।

 

एक जिल्ला सचिवालय सदस्यका अनुसार त्यस्ता अश्लिल गतिविधि बारे पार्टीमा समेत उजुरी परेपछि उनलाई जिल्ला पार्टीले केही साताअघि लिखित स्पष्टीकरण सोधेको थियो। ति सदस्यका अनुसार लिखित स्पष्टीकरण चित्त नबुझेपछि मंगलबार कार्बाही सिफारिस गरिएको हो।

 

दुलालले गाउँपालिकाकै एक महिलासंग फेसबुक च्याटमा अश्लिल संवाद गरेको स्क्रिन सटमा देखिन्छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका स्क्रिन सटहरुमा दुलालको अर्धनग्न तस्बिर समेत देखिन्छ। उनले ति महिलालाई स्तन देखाउन भनेका छन्।

 

ति महिलाले आफूलाई गाउँपालिका अध्यक्षले अश्लिल सन्देश पठाएको भन्दै आफ्नी नन्दलाई देखाएपछि च्याटका स्क्रिन सट सार्वजनिक भएको जिल्ला पार्टीका नेताहरुले बताएका छन्।

 

उक्त स्क्रिन सट सार्वजनिक भए लगतै गाउँपालिका अध्यक्ष दुलालले आफ्नो फेसबुक पेज ह्याक भएको स्पष्टीकरण दिएका थिए। सो लगत्तै उनको फेसबुकबाट जिल्लाका बिभिन्न व्यक्तिहरुलाई रकम माग्दै सहयोगका लागि खाता नम्बर समेत पठाईएको थियो। ह्याकरले उक्त काम गरेको उनले बताएका थिए। यद्धपी फेसबुक ह्याक भएको बारे जिल्ला प्रहरीलाई दुलालले उजुरी गरेका छैनन्।

 

दुलालसंग कुराकानी गर्न खोज्दा मंगलबार दिनभर उनको मोबाईल अफ छ। मोबाईलमा सम्पर्क गर्न खोज्दा ‘सरी दिन नम्बर ईज आउट अफ सर्भिस’(माफ गर्नुहोस, यो नम्बर सेवा भन्दा बाहिर छ) मात्र भनिरहेको छ।

 

त्याे सबै गतिविधि हेर्दा अध्यक्षकाे गल्ति देखिन्छ त्यसैले उनले फाेन अफ गरेकाे देखिएकाे छ। एक जिल्ला कमिटी सदस्यले भनेका छन् प्रदेश कमिटीले पनि कारबाही गर्ने छ, उनले भनेका छन्।