वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण: अनुुसन्धान रिपोर्ट लेखा समितिमा

काठमाडौँ, कात्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियामा छानबिन निरन्तर रहेको जवाफ सार्वजनिक लेखा समितिलाई पठाएको छ ।

 

आरोपितको बयान, कागजात परीक्षण लगायतका प्रक्रिया पूरा भए पनि मूल्यबारे बिक्रेता कम्पनीले जवाफ नदिएको अख्तियारले लेखा समितिलाई पठाएको पत्राचारमा उल्लेख छ ।

 

बिक्रेता एयर बसले मूल्य कूटनीतिक प्रक्रियाबाट मात्र उपलब्ध गराउन सकिने जवाफ अख्तियारलाई दिएको छ । अख्तियारले पठाएको पत्रमा कूटनीतिक पहल जारी रहेको उल्लेख छ ।

समितिले असोज ८ गते वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसबारेको छानबिनको प्रगति विवरण माग गरेको थियो । समितिको माग अनुसार अख्तियारले वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसबारेको छानबिन प्रगति विवरण समितिलाई पठाएको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिनुुभयो ।

एयर बससँग वाइडबडी खरिदमा अनियमितता भएको भन्दै समितिले समेत छानबिन गरेको थियो । समितिले छानबिनको प्रारम्भिक जानकारीसहित विस्तृत अनुसन्धानका लागि अख्तियारलाई पठाएको थियो । समितिलाई प्राप्त पत्राचार अनुसार अख्तियारले अहिले विमान खरिदको मूल्य प्राप्त गर्न कूटनीतिक पहल जारी राखेको छ ।

 

हालसम्म सरोकारवाला र खरिद प्रक्रियामा संलग्न सबैको बयान अख्तियारले सकेको छ । यस्तै खरिद प्रक्रियाको कागजात परीक्षणको काम भइरहेको जवाफ अख्तियारले समितिलाई पठाएको छ ।

 थप प्रमाणको खोजी

यस्तै अख्तियारले सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियाबारे थप प्रमाणको प्रतीक्षा भइरहेको जवाफ समितिलाई पठाएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासमेत जोडिनुभएको उक्त प्रकरणमा उजुरीकर्तासँग थप प्रमाण माग भइरहेको जवाफ अख्तियारको छ ।

अख्तियारले उक्त प्रकरणमा उजुरकर्तासँग अडियोको पूर्ण रूपमा माग गरेको तर उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको जानकारी समितिलाई पठाएको छ ।

 

अख्तियारले पठाएको पत्रमा सरोकारवाला मन्त्री, मुद्रण विकास समितिका पदाधिकारी लगायतका बयान सम्पन्न गरेको जानकारी समितिलाई पठाएको छ । गोरखापत्र दैनिकमा खबर छ।