आज दशैंको पाँचौ दिन: स्कन्दमाता भगवतीको पूजा गरि मनाइँदै

काठमाडौँ,कात्तिक ५। नेपालीहरुको महान् चाड बडादसैंको आज पाँचौं दिन स्कन्दमाताको पूजाआरधना गरेर मनाइँदैछ। देशका विभिन्न ठाउँमा रहेका देवीका मन्दिरमा भक्तजनको भीड बढेको छ।

 

नवरात्रभर विशेष साधना गरी मनाइने पर्वको पाँचौं दिनकी आरध्या देवीको नाम स्कन्दमाता हो। स्कन्द भनेका कुमार हुन् र कुमारकी माता गौरी हुन्। गौरी नै स्कन्दकी माताका रुपमा स्थापित भएकी हुन्।

 

स्कन्दमाताका बारेमा अर्को प्रसङ्ग पनि छ। सनत्कुमारको अर्को नाम स्कन्द हो। स्कन्दकी माताको नामबाट व्यवहृत तिनै स्कन्दमाता जगज्जननीका रुपमा स्थापित भएकी हुन् ।

 

सृष्टिनमा आएका आफ्ना सबै सन्ततिलाई स्कन्द अर्थात् काखमा राखी समभावका साथ पालनपोषण गर्दै मातृत्वको आभास दिलाउने माताका रुपमा स्कन्दमाता नवदुर्गा स्वरुपमा सर्ववन्द्या हुन पुगिन्।

 

पाँचौ दिनमा पूर्वोक्त विधिअनुसार स्थापित देवताहरूको पूजा गरी नवदुर्गाको प्रतिमामा स्कन्दमाता नाम गरेकी देवीको पूजा गरिन्छ।

 

अहंपञ्चभूतान्यपञ्चभूतानि अर्थात म नै पृथ्वी, जल, तेज, वायु र आकाश हुँ। सबै प्राणीलाई धारणा गर्ने वसु हुँ। सबै सृष्टिशलाई आवश्यक पर्ने आप म नै हुँ। सबैमा अधिष्ठित तेजोराशी स्वयं हुँ।

 

सबैलाई स्पर्श गर्ने प्राणवायु हुँ। अन्तरिक्ष शून्य पनि म नै हुँ। मबाट पृथक् कुनै वस्तु छैनन्। यी पञ्चभूत मेरै अधीनमा छन् भन्ने यसको आशय हो ।

 

ब्रह्मादिहरूबाट उपासित महामाया, सबैको कल्याण गर्दै मनोवाञ्छित फल प्रदान गर्ने, ६ वर्षले युक्त गायत्री नाम गरेकी कन्यालाई पूजा गर्दै वस्त्र, दक्षिणा, शृङ्गार सामग्रीका साथ पञ्चम दिनको दुर्गा पूजन कार्य समापन गरिन्छ।