आफ्नै कार्यकर्ता हत्याको जाहेरीसमेत नलिने नेकपाको सरकारबाट कस्तो कानुनी राज्यको अपेक्षा राख्ने :कांग्रेस

काठमाडौं,कार्तिक ८। पर्सामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई गुटबीच झडप हुँदा एक जनाको मृत्यु भएको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै प्रश्न गरेका छन्। नेकपाकै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा कसरी राखौं ? घटनाको निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन केन्द्रीय र प्रदेश २ नम्बर सरकारसँग माग गरिएकाे छ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं।

सत्तारूढ दल नेकपाका स्थानीय दुई समूहबीच पर्सा जिल्लामा कात्तिक ६ गते बिहीबार झडप भएको, एक घाइतेको उपचारक्रममा निधन भएको र दोषीमाथि कार्बाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेकोे सार्वजनिक समाचार विवरणहरूप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ।

 

घटना विवरण अत्यन्तै दुःखद छ। अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कार्बाही गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ।

 

नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य हो। तर नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ। प्रधानमन्त्रीकै जिल्ला झापामा यसबीचमा कैयौंको हत्या भएको छ, प्रतिपक्षी दलका समर्थक, शुभचिन्तक यसबीचमा देशका कैयौं ठाउँमा आधा दर्जनको संख्यामा सत्तारूढ पार्टीका कार्यकर्ताबाट मारिएका छन्।

 

पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेकोे दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ। घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुनी कार्बाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो। तर ३ दिन पुग्दासम्म जाहेरीसमेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ।

 

नेपाली कांग्रेस निष्पक्ष अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुवै सरकारको गम्भीर ध्यानाकर्षण र माग गर्दछ। जय नेपाल !

विश्वप्रकाश शर्मा, प्रवक्ता एवं प्रमुख, सूचना, सञ्चार तथा प्रचार विभाग