भारतका रक्षामन्त्रीले दिए हतियार समाउँदै चीनलाई चेतावनी

एजेन्सी। भारतका रक्षामन्त्री राजनाथ सिंहले दशहरे पर्वका अवसरमा दार्जिलिङको सुकनास्थित युद्ध स्मारकमा गएर सेनाको हतियार पूजा गरेका छन्।

 

त्यस क्रममा उनले चीनसँग सीमामा भइरहेको विवाद अन्त्य होस् भन्ने चाहना भारतको रहेको बताए। त्यस क्षेत्रमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको धारणा राखे।

 

साथै उनले भारतीय सेनाले देशको एक इन्च भूमि पनि कसैलाई अतिक्रमण गर्न नदिने पनि चेतावनी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

हालै लद्दाखमा भारत-चीन सीमामा भएको झडपमा बहादुरी देखाएको भन्दै भारतीय सेनाको प्रशंसा गरे र उनीहरूको वीरता स्वर्ण अक्षरमा लेखिने बताए।

 

गत जुन १५ मा लद्दाखको गलवानमा भारत-चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सेनाको निधन भएको थियो। चीनतर्फ भएको हताहतीबारे अहिलेसम्म चीनले जानकारी दिएको छैन।

रक्षामन्त्री सिंह हाल पश्चिम बंगाल र सिक्किमको २ दिने भ्रमणमा छन्।