रौनक नभएको दसैं

काठमाडौं,कार्तिक १० । कोरोना भाइरस कोभिड–१९ को प्रभावका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भएको र कोरोना संक्रमितको संख्या पनि दैनिक रूपमा गुणात्मक हिसाबले बढेको छ ।

 

समुदायमा थप संक्रमण फैलिएर त्रास बढिरहेको छ । यस्तो समयमा मनाइने दसैं विगत जस्तो नहुने भएको छ । यतिखेर हरेक व्यक्ति दसैंभन्दा पनि कोरोना संक्रमणबाट आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा छन् ।

 

धेरैले भन्न थालेका छन्– कोरोना महामारीबाट बचियो भने यस्तो दसैं त अर्को वर्ष धुमधामका साथ मनाउँला । त्यसैले यसपालिको दसैंको रौनक हराएको छ ।

 

सामान्य समय भएको भए यतिखेर काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, महाबौद्ध, दरबारमार्गलगायतका बजारमा खुट्टा हाल्ने ठाउँ हुँदैनथ्यो ।

 

सडकमा मान्छेको भीड, कपडा पसलमा नयाँ कपडा छान्नेको लर्को, सुन पसलमा गहना रोज्नेको लाइन र मोबाइल पसलमा नयाँ मोबाइल किन्नेको भीड हुन्थ्यो ।

 

जुत्ता, चप्पल, मसला, कपडा पसल, खसी बजारमा घटस्थापनाको दिनदेखि नै निकै चहलपहल हुन्थ्यो । अहिले विगतमा जस्तो दृश्य देखिएको छैन् ।

 

जुत्ताचप्पल, मसला, कपडा पसल, खसी बजारमा घटस्थापनादेखि नै निकै चहलपहल हुन्थ्यो । अहिले विगतमा जस्तो उत्साह देखिएको छैन ।

 

विगतका वर्षमा यहाँ उपभोक्ताले आफूलाई आवश्यक पर्ने सामान र दसैं तिहारका लागि आवश्यक सामान जोहो गर्न निकै तँछाडमछाड एवं घुइँचो नै हुन्थ्यो ।

 

त्यति मात्रै होइन, नयाँ गाडी, मोटरसाइकल तथा स्कुटर खरिद गर्नेहरूले दुईपांग्रे तथा चारपांग्रे सवारी साधनका सोरुम घेरिरहेका हुन्थे ।

 

टिभी, फ्रिज, मिस्चर जस्ता विद्युतीय सामग्रीदेखि रङरोगन र घर टल्काउने उपाय खोज्दै दसैंका बेला बजारमा निस्किएका मान्छेको भीडले काठमाडौं उपत्यकालगायत मुलुकभरका सबै सहरका गल्लीहरूमा निकै चाप हुन्थ्यो । तर, यसपालिको दसैंमा त्यस्तो भीडभाड देखिएको छैन ।

 

 

कोरोना भाइरस ९कोभिड–१९० को कहरले मुलुकको आर्थिक गतिविधि निकै धराशायी भएको र संक्रमण दर पनि उच्च रूपमा बढ्दै गएकाले अहिले अधिकांश मानिस दसैंको किनमेलमा निस्किएका छैनन् ।

 

काठमाडौंका न्युरोड, असन, इन्द्रचोक र महाबौद्धलाई राजधानीकै मुख्य बजारका रुपमा लिइन्छ । यी बजार कोरोना महामारीका कारण सुनसान जस्ते छ ।

 

दसैं सामाजिक तथा सांस्कृतिक पर्व मात्र नभएर किनमेलको पर्व पनि हो । व्यवसायीहरू पनि दसैंअघिको समयलाई ‘व्यावसायिक पर्व’का रूपमा लिन्छन् । अहिले सवारी साधन बिक्री गर्ने सोरुममा पनि विगतका वर्षको जस्तो चाप छैन ।

 

घरायसी सामग्री बेच्ने व्यापारीहरू पनि विगत ६ महिनादेखि बन्द कोठामा थुनिएका छन् । कोरोना संक्रमण फैलिने जोखिमका कारण सरकारले नै अझै ठूलो संख्यामा मानिस जम्मा हुन प्रतिबन्ध लगाएको छ ।

 

दसैंमा सरकार तथा निजी क्षेत्रले आफ्ना कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम दसैं खर्च ९दसैं पेस्की० भनेर दिने परम्परा छ ।

जसले गर्दा जनमानसमा सामान्य अवधिमा भन्दा बढी पैसा आउने भएकाले त्यस्तो रकमलाई नयाँ वस्तु जोड्ने अवसरका रूपमा प्रयोग हुँदै आएको छ ।

 

तर, यसपालि निजी क्षेत्रमा कार्यरत धेरैले विगतका वर्षहरूमा जस्तो दसैं भत्ता पाएका छैनन् । त्यसले पनि व्यापार घटाएको सम्बन्धित व्यवसायीको भनाइ छ ।

 

यसैगरी, लामो समय विदेशमा रहेका नेपालीहरू दसैं–तिहार मनाउन स्वदेश फर्किने गरेका छन् । विदेशबाट फर्किएका नेपालीले घर फर्कंदा केही नयाँ सामान खरिद गरेकै हुन्छन् । तर, कोरोनाको त्रासले यसपालि अधिकांशले अत्यावश्यक सामान मात्रै खरिद गरेका छन् ।

 

अहिले विदेशबाट आएका व्यक्तिहरू घरभन्दा पहिले आइसोलेसनमा बस्नुपर्ने बाध्यात्मक नियमका कारण अत्यावश्यक नपरी कुनै पनि वस्तु खरिदमा ध्यान दिन छोडेको उनीहरूको भनाइ छ ।

 

उपभोक्तामा शिथिलता आएपछि व्यापारीले मात्रै जाँगर चलाएर केही हुँदैन । माग पक्ष नबढी पूर्ति पक्ष नबढ्ने जानकारी गराउँदै अर्थविद् डा। पोषराज पाण्डेले भने, ‘यो अर्थशास्त्रको सिद्धान्त हो ।

 

कोरोना संक्रमण दर उच्च भइरहेका कारण अहिले उपभोक्ता, उत्पादक आयातकर्ता सबै निराश छन् ।’ कोरोना त्रासकै कारण यसपालिको दसैंमा विगतका वर्षहरूमा जस्तो व्यापार हुने सम्भावना न्यून रहेको पाण्डेको भनाइ छ ।

 

जसका कारण अहिले अत्यावश्यकबाहेक हरेक वस्तुको माग लगभग शून्यमा झरेको छ । अर्कातर्फ सर्वसाधारणबीच पुनः काठमाडौंमा लकडाउन त हुने होइन भन्ने त्रासले पनि व्यवसायीले बढी सामान जोहो गर्न चाहेका छैनन् ।

 

अझै सरकारले कोरोना फौलने जोखिम भन्दै सिनेमा हल, पार्टी प्यालेस खोल्न दिएको छैन । ६ महिनादेखि बन्द रहेको होटल सरसफाइ गरी माकुराको जालो पुछ्न थालेका छन् ।

 

अझै होटलमा ग्राहकको रौनक छैन । भर्खरै वायुसेवा कम्पनीहरूले पनि हवाई सेवा सुरु गरेका छन् । दसैंका लागि नयाँ प्याकेज सार्वजनिक गरेका छन् । तर, उपभोक्तालाई त्यस्ता कुनै पनि प्याकेज तथा अफरले छुन सकेको छैन ।

छैन दसैंलाई नयाँ नोट

दसकौंदेखि दसैंमा दक्षिणाका रूपमा प्रयोग गरिने नयाँ नोट यस पटक नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ संक्रमण उच्च दरले बढिरहेको र केन्द्रीय बैंककै पदाधिकारी पनि संक्रमणको सिकार भएकाले नयाँ नोट वितरण कार्यलाई स्थगित गरेको हो ।

 

राष्ट्र बैंकका डेपुटी गभर्नरसहित विभिन्न विभागका कर्मचारीलाई कोरोना संक्रमण भएसँगै यस वर्ष दसैंमा नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

विगतका वर्षमा जस्तो अहिले नयाँ नोट वितरण गर्न सहज नहुने बताउँदै नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकरण भट्टले भने, ‘हामी यो वर्ष नयाँ नोट वितरण नगर्ने योजनामा छौं ।

 

त्यसैको परिणाम हरेक वर्ष नयाँ नोट वितरणको सीमा घटाउँदै आएको राष्ट्र बैंकले यसपालि कोरोना भाइरस कोभिड–१९ लाई कारण देखाएर नयाँ नोट वितरण कार्य बन्द गरेको छ विगतमा दसैंको पहिलो दिनबाटै काठमाडौंका विभिन्न बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकका शाखाहरूमा नयाँ नोट लिन सर्वसाधारणको निकै ठुलो भीड लाग्ने गरेको थियो ।

 

अहिले त्यस्तो अवस्था छैन । भीडमा बसेर नयाँ नोट लिन खोज्दा दसैंका बेला आफू पनि कोरोना संक्रमित भइन्छ कि भन्ने त्रासका कारण अहिले सर्वसाधारणले नयाँ नोटलाई त्यति महत्व नदिएको सम्बन्धित सरोकारवालाको भनाइ छ ।राजधानी दैनिकमा खबर छ।