बारामा प्रहरी र तस्करबीच झडप: गोली लागेर एक बालक गम्भीर घाइते

काठमाडौं,कार्तिक १३ । भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग झडप हुँदा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् । 

 

प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ ।

 

 प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको जनाइएकाे छ।

 

 गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री गर्ने क्रम जारीरहेको छ।

 

 राति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकै रहेको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लियो । त्यसपछि थप स्थानीयसमेत आएर प्रहरीहरुमाथि आक्रमण गरी प्याज लगेर गएको प्रहरीले जनाएकाे छ।

 

 प्रहरीले स्थिति नियन्त्रण लिनकाे लागि १२ राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका बालकको टाउकोमा गाेली लागेकाे छ, अवस्था गम्भीर छ ।