राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा: पुरानै मोडलमा प्रश्न बनाउने तयारी

काठमाडौं,कार्तिक १९। राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ ।

 

स्थगित भएको सात महिनापछि यही मंसिर ९ गतेबाट गर्न लागेको परीक्षामा कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र केही पहाडी जिल्लामा छपाइ गरिएको प्रश्नपत्र पठाउने तयारी गरेको छ ।

 

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले करिब २५ जिल्लाका केन्द्रमा छपाइ गरिएको प्रश्नपत्र पठाउने तयारी भइरहेको बताउनुभयो । कुन कुन केन्द्रमा पठाउने भन्ने विषयमा बोर्डको प्रदेश परीक्षा कार्यालले निर्णय गर्नेछ ।

 

बोर्डले जुम्ला, हुम्ला, कालीकोट, मुगु, मनाङ, मुस्ताङ, डोल्पा, बाजुरा, जाजरकोट, बझाङालगायतका जिल्लामा छपाइ गरी प्रश्नपत्र पठाउने तयारी गरेको छ । अन्य जिल्लाका परीक्षा हुनु केही समय अघि इमेलमार्फत प्रश्नपत्र पठाउने तयारी गरेको छ ।

 

परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टाको हुनेछ । सो परीक्षा १६ गते सकिनेछ । बोर्डले तयार गरेको कार्यविधिमा परीक्षाको उत्तरपुस्तिका सम्बन्धित विषय शिक्षकले परीक्षण गरी नम्बर पठाउने व्यवस्था गरेको छ ।

 

बोर्डले सबै प्रदेश कार्यालयमा उत्तरपुस्तिका पठाइसकेको जनाएको छ । ‘अब परीक्षा केन्द्रमा पठाउने काम प्रदेश कार्यालयको हो।’ –बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो ।

 

परीक्षामा कोरोना संक्रमण देखिएका विद्यार्थीलाई छुट्टै कोठाबाट परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डले जारी गरेको सूचनामा ‘कोभिड–१९ संक्रमित भई उपचाररत परीक्षार्थीहरु परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ’ उल्लेख छ ।

 

परीक्षामा सहभागी सबै विद्यार्थीले अनिवार्यरुपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने, सबै केन्द्रमा अनिवार्यरुपमा हेल्थ डेक्स राखिनुपर्ने, केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्यरुपमा थर्मल गनले तापक्रम परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

बोर्डका अध्यक्ष प्राडा पौडेलले हरेक केन्द्रमा स्थानीय तहको समन्वयमा हेल्थ डेक्ससहित स्वास्थ्य सामग्री राख्नुपर्ने बताउनभुयो ।

 

बोर्डले हिजो मंगलबार तीनै सुरक्षा निकायका उच्च अधिकारीसँग बैठक गरेको थियो । तीनै सुरक्षा निकायका अधिकारीले परीक्षामा पूर्ण सुरक्षा प्रत्याभूति दिने बताएका थिए ।

 

योे वर्ष ४० प्रतिशतका लागि मात्रै परीक्षा गर्न लागिएको हो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने गरी बोर्डले कार्यविधि निर्माण गरेको छ । परीक्षाको प्रश्नपत्र पुरानै ढाँचामा तयार गरिने जनाएको छ ।

 

कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त विषयगत प्राप्तांकलाई शतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने व्यवस्था गरेको छ ।

 

आन्तरिक मूल्यांकनको अंकभार सैद्धान्तिकतर्फको कुल पूर्णाङ्कलाई शतप्रतिशत मानी २० प्रतिशत हुने कार्यविधिमा तयार गरिसकेको छ ।

 

परीक्षामा करिब ४ लाख २६ हजार विद्यार्थी सहभागी हुनेछन् । ४ हजार १ सय ५ विद्यालयमा परीक्षा हुने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । नेपाल समाचारपत्रबाट,